Logo

कोरोना संक्रमित भिआइपी संख्या बढ्दो



काठमाडौं, असोज २ । सुरुका दिनमा विदेशबाट आउने विद्यार्थी तथा श्रमिकबाट सुरु भई समुदायस्तरसम्मै फैलिएको कोभिड–१९ संक्रमण पछिल्लोसमय उच्च पदस्थ व्यक्तिहरूमा पनि व्यापक बन्दै गएको छ । यसबाट विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, निर्वाचित जनप्रतिनिधि तथा संवैधानिक निकायका उच्च तहका व्यक्ति पनि अछुतो रहन सकेका छैनन् ।

अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यसम्म संक्रमित भएका छन् । करिब १४ दिन आइसोलेसमा बसेका प्रमुख शाक्यको पिसिआर परीक्षण गर्दा नेगेटिभ दखिएको छ । तर, उनी नियमित काममा फर्किएका छैनन् । कांग्रेस महामन्त्री डा। शशांक कोइराला भने कोरोना संक्रमित भएको एक हप्तापछि ज्वरो बढेका कारण ओम अस्पतालमा भर्ना भएका छन् । कोइरालालाई ओम अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । कोइरालाको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ ।

सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा। सूर्यनारायाण यादवको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यादव अहिले संक्रमण मुक्त भइसकेका छन् । यस्तै, अछाम २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले सांसद बोगटी संक्रमण मुक्त भइसकेका छन् । सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमित भएर १० दिन आइसोलेसनमा बसेर संक्रमणमुक्त भएका छन् । कोरोनाबाट संक्रमित पहिलो भिआइपी भने प्रतिनिधिसभाका सदस्य प्रदीप यादव हुन् । पर्सा १ बाट प्रतिनिधि सभामा निर्वाचित यादवलाई साउन १७ गते कोभिड–१९ पोजेभिट देखिएको थियो । यादव अहिले संक्रमणमुक्त भइसकेका छन् ।

अवकाशको मुखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पनि कोरोना संक्रमण भएको थियो ।

पूर्वउद्योग राज्यमन्त्री कञ्चन वादेलाई पनि कोरोना संक्रमण भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा आइसियूमा राखेर उनको उपचार गरिएको थियो । कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र अजय चौरसिया पनि अहिले कोरोना संक्रमणमुक्त भइसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात सचिव देवन्द्र कार्की र सहरी विकास सचिव मधुसुदन अधिकारीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । प्रदेश एकको प्रदेश सभासद् कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण भएर अहिले संक्रमण मुक्त भइसकेकी छन् । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य पनि कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादबलाई पनि कोभिड १९ संक्रमण भएको थियो । मन्त्री यादवसँगै गरिएको परीक्षणमा प्रदेश २ को प्रदेश सांसद रीना यादव कोरोना संक्रमण भएको पुष्टि भएको थियो । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना संक्रमण भएकोमा संक्रमणमुक्त भएर नियमित काममा फर्किएका छन् ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्