Logo

पोखरामा प्याजको मूल्य तेब्बर



पोखरा, असोज २ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीले प्याज स्टक राखेर कृत्रिम अभाव सिर्जना गरी तेब्बरसम्म मूल्य लिएका छन्।

बिहीबार प्रदेश बजार अनुगमन समितिले अनुगमन गर्दा प्याज अभाव देखाउन होलसेल व्यापारीले पसल बन्द गरेको पाइएको उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए। ‘अनुगमनका क्रममा अधिकांश प्याज पसल बन्द देखिए,’ उनले भने, ‘प्याज अभाव देखाएर दिन दुई गुणा, रात चौगुणा मूल्य वृद्धि गरेको पाइयो।’

व्यापारीले किनेको मूल्यभन्दा झण्डै तेब्बरमा प्याज बेचेको पाइएको अध्यक्ष कोइरालाले बताए। त्यसरी बेच्ने होलसेल पसल बन्द गरिएको उनले जानकारी दिए। आफूखुसी बढी मूल्य लिएर प्याज बेच्ने पोखराको प्रदर्शनी केन्द्रस्थित कृषि उपज बजारको सटर नं ५१ मा रहेको सन्दीप श्री ट्रेडर्समा सिल गरिएको उनले बताए। सिल गरिएको सो ट्रेडर्सको गोदाममा पाँच सय बोरा प्याज रहेको कोइरालाले बताए।

उक्त पसलले ४० रूपैयाँ प्रतिकेजीमा किनेको प्याज १११ रूपैयाँमा बिक्री गरेको पाइएपछि सिल गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिए।

प्याज स्टक हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्य बन्द गरिएका पसल खोल्न पनि अनुगमन समितिले भनेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्