Logo

मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली



काठमाडौं, २ असोज । हेर्दा हेर्दै दशैं नजिकिइसकेको छ । चाँडबाँडको बेलामा मन्त्री फेरिहाल्न नहुने तर्क हुनसक्छ । यसरी अबको एक दुई महिना कट्न सक्छ । मन्त्रिमण्डल पुर्नगठनमा बालुवाटारले यसरी नै अलमलाउने रणनीति लिन थालेको छ ।

आफूले मनपराएको व्यक्तिको नियुक्ति गर्नुपरे प्रधानमन्त्री केपी शर्मा ओलीले चुट्कीको भरमा गर्छन् । निवर्तमान अर्थमन्त्री डा. युवराज खटिवडालाई आर्थिक सल्लाहकार बनाउँदा क्याबिनेटका धेरै मन्त्रीले चालै पाएनन् । एकैपटक मन्त्रिपरिषदको निर्णय मङ्गलबार सार्वजनिक गर्दा पो चाल पाए ।

अर्थमा युवराजलाई नै अघोषित जिम्मा दिएर ओलीले अरुको बाटो रोकिदिएका छन् । अर्थमा बामदेव गौतम, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको दाबी थियो । तर, युवराज आर्थिक सल्लाहकार नियुक्त हुनु भनेको उनी नै छायाँ अर्थमन्त्री हुनु हो । अब कुनै पात्रलाई अर्थराज्यमन्त्री बनाएर अर्थ मन्त्रालय युवराजबाट चलाउने रणनीति बन्न सक्छ ।

गृहमा रामबहादुर थापा बादल छन् । बामदेवको मन्त्री बन्ने चाहनामा बादल र युवराज नै बाधक भइसके । यी दुई मन्त्रालयबाहेक बामदेवको राजनीतिक उचाईलाई सुहाउँदो मन्त्रालय पनि छैन । कि त भने सभामुख भइसकेका रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा शान्तिमन्त्री बनेको जस्तै गरी झनुपर्यो । शहरी विकासमा मन्त्री छैनन् । सञ्चारमा प्रदीप ज्ञवालीलाई लाने चर्चा छ ।

तर, प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनमा अर्को असन्तुष्टि थपिने बुझेका छन् । बामदेवको व्यवस्थापन सजिलो छैन । उनलाई व्यवस्थापन गर्दा ईश्वर पोखरेल र बादललगायत असन्तुष्ट हुनसक्छन् । त्यो भन्दा अहिलेलाई आलटाल गर्दै मन्त्रीमण्डल पुर्नगठनको समय धकेल्दै लाने रणनीति बालुवाटारको देखिदैछ ।

बामदेवलाई सरकारमा नलाँदा आउने समस्याबारे पनि ओली जानकार छन् । हिजो बामदेवको सपथमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पुग्नु अर्थपूर्ण छ । हुनत विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ पति पुगे । तर, प्रचण्ड र माधव नेपालको उपस्थितिले केही सन्देश दिएको छ । बामदेवलाई चिढ्याए अब चाहिं ओलीका लागि भारी पर्न सक्ने सन्देश थियो त्यो ।-फाइल तस्वीर

 



प्रतिक्रिया दिनुहोस्