Logo

सचिवालय बैठक स्थगित् भएकोमा नेपाल रुष्ट, मदन भण्डारी फाउण्डेशन विघटन गरिनुपर्ने !



काठमाडौं, २ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आज बस्ने भनिएको सचिवालय बैठक स्थगित् गरिएकोमा आफ्नो असन्तुष्टि पोखेका छन् । आज राति ८ः०५ बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले सचिवालय बैठक स्थगित् गरिएकोमा आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले आजको बैठक केही समयको लागि बसेर स्थगित् गरेको भए पनि राम्रै सन्देश जाने थियो भन्ने धारणा राखेका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा सचिवालय बैठक बसेर देशभरिका नेता/कार्यकर्तालाई संविधान दिवस भव्य रुपमा मनाउन सर्कुलर गर्न सकेको भएपनि राम्रै सन्देश जानेथियो भन्ने उनको भनाई छ ।

नेता नेपालले पार्टीभित्र मदन भण्डारी फाउण्डेशनको नामबाट गुट चलाईएको गम्भीर आरोपसमेत लगाएका छन् । उनले अब कुनैपनि फाण्डेशनको नामबाट पार्टीभित्र गतिविधि हुन नहुने भनाई राखेका छन् । उनले मदन भण्डारी फाउण्डेशन त विघटन गर्नुपर्ने माग राखेका छन् । उनले भनेका छन्,‘फाउण्डेशनले पार्टीमा गुट जन्मायो । त्यो फाउण्डेशनमा गुटको मान्छेबाहेक कोही छैन् । पार्टीको मान्छे कोही छैन् ।’ नेता नेपालले पार्टी अब समाजवादतर्फ गैसक्यो सुनाउँदै जनताको बहुदलीय जनवाद छोडिसकेको पनि स्पष्ट पारे ।

नेकपा सचिवालय बैठक आज बस्ने भनिएको थियो । तर, अन्तिममा आएर बैठक स्थगित् भएको सूचना प्रवाह भएको थियो । नेकपा सचिवालय बैठक पहिलो पटक तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय रहेको पेरिसडाँडामा बस्ने भनिएको थियो । तस्विर : अमृत खतिवडा



प्रतिक्रिया दिनुहोस्