Logo

गणतन्त्रले जनताको सर्वोच्चता स्थापित गरेको छ, राजतन्त्र हुँदा राजनीतिक स्वतन्त्रता पनि थिएन : कृष्ण प्र. सिटौला (विशेष अन्तर्वार्ता)



नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनका विषयहरूमा छलफल गर्न सकिने स्पष्ट पारेका छन् । आज संविधान दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘यो संविधान लचिलो, डाइनामिक, गतिशील संविधान हो । यसलाई संशोधनमार्फत परिमार्जन गर्न सकिन्छ । यो जस्ताको त्यस्तै राखिरहने भन्ने पनि होइन । यसलाई सहज ढंगले संशोधन गर्ने प्रक्रिया पनि त छ नि ।’ प्रस्तुत छ नेता सिटौलासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

आज संविधान दिवस ! संविधान दिवस मनाईरहँदाखेरि संविधान जारी भएको ५ वर्ष पुग्यो आज । संविधान कार्यान्वयनमा हामी कहाँ चुक्यौँ ?

संविधान जारी भएपछि निर्वाचनको लागि तयारी गरिएको हो त्यसबेला । संविधान जारी भएको ५ वर्षको उपलब्धि एउटा मुख्य पक्ष निर्वाचन हो । निर्वाचन सम्पन्न भयो । संघीय व्यवस्थाअन्तर्गत नेपालमा पहिलोपटक नेकपाको सरकार आए । त्यो एउटा उपलब्धिको रूपमा लिनुपर्छ हामीले । त्यहाँदेखि निर्वाचनपछि बनेका सरकारको कामकारबाहीको सन्दर्भमा छुट्टै छलफल गर्नुपर्छ त्यसबारेमा ।

संविधान संशोधनको कुरा आएको छ । आदिवासी, जनजाति, मधेशीले भनिरहेका छन्–हाम्रो माग पूरा भएन, संविधान संशोधन गर्नुको विकल्प छैन भनेर । तपाई के भन्नुहुन्छ ?

संविधान संशोधनका विषयहरूमा छलफल गर्न सकिन्छ । संशोधन गर्न सकिन्छ । यो संविधान लचिलो, डाइनामिक, गतिशील संविधान हो । यसलाई संशोधनमार्फत परिमार्जन गर्न सकिन्छ । यो जस्ताको त्यस्तै राखिरहने भन्ने पनि होइन । यसलाई सहज ढंगले संशोधन गर्ने प्रक्रिया पनि त छ नि ।

तर संविधान संशोधन गर्न सकिन्छ भनेर तपाईँले भनिरहँदाखेरि अब संघीयता, मौलिक हक, समानता, नागरिकता, समानुपातीक प्रतिनिधित्वको विषयहरूमा संविधानका जुन किसिमका विशेषताहरू छन् नि, त्यसमा त तपाईँहरू असफल हुनुभयो ? कार्यान्वयनमा त ढिलाई भयो ।

नेपालको इतिहासमा पहिलोपटक यो राज्यव्यवस्थाको संविधान आयो । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको संविधान, त्यसपछि निर्वाचन भएको ३ वर्ष भयो । ३ वर्षभित्रमा संविधानले व्यवस्था गरेबमोजिम कति राज्यव्यवस्था सफल भयो या भएन भन्ने कुराको मूल्यांकन गर्नुपर्छ । मुख्य कुरा यो संविधानले उल्लेख गरेको संक्षिप्त वाक्यमा भन्ने हो भने संविधानले जनतालाई सुरक्षा प्रदान गर्ने व्यवस्था गरेको छ । जनताको उन्नतिका लागि राज्यव्यवस्थाले अधिकारको व्यवस्था गरेको छ । हरेक नागरिकका आवश्यकताहरूलाई पूरा गर्छ, सरकारले भनेर यो संविधानले व्यवस्था गरेको छ । मुख्य कुरा राजनीतिको मूल पक्ष भनेको पनि यही हो । नागरिकको रक्षा हुनुपर्छ, नागरिकको उन्नतिका लागि आधारहरू खडा हुनुपर्छ । त्यसैका लागि संविधानले मौलिक अधिकारका लागि जनताका दैनिक आवश्यकताहरूलाई सामाजिक, आर्थिक अधिकार मात्र होइन, राजनीतिक अधिकारलाई पनि जनताको मौलिक हकको रूपमा प्रबन्ध गरेको छ । जस्तै खाद्य, आवास, रोजगारी, निःशुल्क स्वास्थ्योपचार, निःशुल्क शिक्षा, श्रमिक, गरिब किसान, सामाजिक सुरक्षा, सामाजिक न्याय, दलित, महिला, नाबालक, ज्येष्ठ नागरिक, कमजोर नागरिकहरूको हकका लागि विशेष अधिकारको कुरा संविधानमा मौलिक अधिकारमा नै व्यवस्था गरेको छ । गरिब जनतालाई अघि बढाउनका लागि जनताका आधारभूत आर्थिक अधिकारहरूलाई मौलिक हकको रूपमा प्रचलनमा ल्याउनुपर्छ भनेर राज्यले व्यवस्था गरेको छ । त्यो ठाउँमा सरकारले काम गर्न सकेन । तीनै तहको सरकारको अहिले हामीले मूल्याकंन गर्दाखेरि संविधानमा जसरी जनताका मौलिक हक, मूलभूत आर्थिक अधिकारहरूलाई ग्यारेण्टी गरेको छ, सरकारले सम्बोधन गर्न सकेको छैन । जनता संविधान जारी हुनुभन्दा अगाडि जुन अवस्थामा थिए, आजको दिनमा जनता त्यही अवस्थामा छन् । रोजगारी छैन, बेरोजगारी बढ्दै गएको छ । आवासको प्रबन्ध अझै हुन सकेको छैन । स्वास्थ्योपचारको हक जनताले निःशुल्क रूपमा पाउने, त्यो कुरा त्यत्तिकै रहेको छ । अगाडि जान सकेको छैन । शिक्षाको हक पनि प्रचलनमा आउन सकेको छैन । त्यसैगरी श्रमिक र किसानको झन् आजको अवस्थामा कोभिड–१९ पछिको आजको स्थितिमा त झनै भयावह स्थिति छ । यी सबै कुरालाई मूल्याकंन गरेर हामीले के भन्नपर्ने हुन्छ भने निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टीको एउटा स्थिर सरकार छ तर त्यो स्थिर सरकारले जनतालाई हामीले मौलिक अधिकारमा ग्यारेण्टी गरेका कुराहरू प्रत्याभूत गर्न नसक्दा, प्रचलनमा ल्याउन नसक्दा के छ भने जनताको गुनासो भने बढ्दै गएको छ ।

गणतन्त्र ल्याउनको लागि तपाईहरूले ठुलो भूमिका निर्वाह गर्नुभएको थियो । गणतन्त्रले के दियो त नेपाली जनतालाई ?

गणतन्त्रले जनताको सर्वोच्चता स्थापित गरेको छ । राजतन्त्र हुँदा राजनीतिक स्वतन्त्रता पनि थिएन होला । गरिबी, विकृति र भय राजतन्त्र हुँदाखेरि थिए होलान् । त्यसबारे म धेरै चर्चा गर्न चाहन्न । यो संविधानलाई दोष दिएर, यो संविधान, लोकतन्त्र खराब हो भन्नेमा पुग्नुहुँदैन । संविधानबमोजिम सरकारले काम गर्न नसकेको दोष संविधानमाथि राख्न पाईन्न । संविधानले जनतालाई के ग्यारेण्टी गरेको छ ? त्यो दिने दायित्व सरकारको हुन्छ । सरकारले दिन नसकेको अवस्थामा जनताले बदल्छन्, सरकारलाई, निर्वाचनमार्फत ।

नेपाली कांग्रेसले २०६२/६३ को जनआन्दोलनको नेतृत्व गरेको थियो । संविधान पनि कांग्रेसकै नेतृत्वमा जारी भयो, शुशील कोइराला प्रधानमन्त्री प्रधानमन्त्री हुँदाखेरि । तर अहिले आएर संविधान कार्यान्वयनमा कांग्रेस असफल भयो, कांग्रेसले जनताको मन जित्न सकेन, कांग्रेसले जनताका एजेण्डा उठाउन सकेन, कांग्रेस कमजोर भयो, कांग्रेसको प्रभाव जनतामा देखिएन, किन कांग्रेस यस्तो अवस्थाम पुग्यो ? प्रतिपक्षको भूमिकामा पनि त कांग्रेस आज सुस्ताएको छ नि त ?

गएको आमनिर्वाचनपछि कांग्रेसको ठुलो पराजय भएको थियो । निर्वाचनको व्यवस्थापन हामीले सही ढंगले गर्न सकेनौँ । निर्वाचनको व्यवस्थादेखि, उम्मेदवारको छनौटदेखि निर्वाचनका एजेण्डासम्म निकै ठुलो अभाव भयो । त्यसकारणले नेपाली कांग्रेसले ठुलो पराजय भोग्नुपरेको थियो । पार्टीभित्र हामीले त्यसलाई व्यापक रूपमा छलफल गरेका छौँ । तर निर्वाचनपछि यताका दिनहरूमा जुन ढंगले कांग्रेस पार्टी प्रतिपक्षको रूपमा एउटा दृष्टिकोणसहित पार्लियामेन्ट, प्रदेशसभाहरूमा त्यति जान सकेनौँ नै । त्यसले नपुग्दाखेरि हामीले सडकमार्फत जनतामा एउटा चेतना जागृत गराउनका लागि सरकारलाई सचेत गराउनका लागि एउटा अभियान हामीेले चाल्न सक्नुपथ्र्यो, जनतासमक्ष लग्न सक्नुपथ्र्यो, त्यो हामीले सकेनौँ । जसरी प्रतिपक्षहरूले काम गर्न सक्नुपथ्र्यो, त्यो हामीले गर्न सकेनौँ । सरकारको ठाउँमा अहिले कम्युनिष्ट पार्टी छ । जनताका आवाज बोल्ने पक्षमा प्रतिपक्ष हुन्छ । बोल्ने ठाउँमा अहिले नेपाली कांग्रेस पार्टी छ । जनताका आवाज जसरी बुलन्दपूर्वक उठाउन सक्नुपथ्र्यो, एउटा न्यायिक चेतना जसरी जागृत गराउन सक्नुपथ्र्यो, त्यो हामी नेपाली कांग्रेस पार्टीले गर्न नसकेकै हो । त्यसकारण यसमा समग्रमा पुनर्मूल्याकंन हामीले पार्टीभित्र गर्नुपर्छ ।

नेपाली रेडियो नेटवर्कले खेलेको भूमिकाको कुरा गर्दाखेरि संविधान जारी भएको १ वर्षपछि हामीले स्थापना गरेका थियौँ । आज हामीले पाँचौँ वार्षिकोत्सव मनाईरहँदाखेरि अब हामीले गर्नुपर्ने काम के के छन् ?

अरू सामाजिक, आर्थिक, साँस्कृतिक पक्षलाई पनि जोड्ने काम गर्नुहोस् नम्बर एक बुँदा । दोस्रो कुरा तपाईँको नेटवर्कको रेन्ज अझै बढाएर जानुहोस् । कसैसँग पनि आग्रह, पूर्वाग्रह नराखिकन निष्पक्ष ढंगले पत्रकारितालाई सही ढंगले सफलता हासिल गर्नका लागि अगाडि बढ्नुहोस्, मेरो तपाईँहरूलाई शुभकामना छ ।



प्रतिक्रिया दिनुहोस्