Logo

सांसद चौधरीद्वारा बाढि पीडितहरुलाई टेन्ट र त्रिपाल प्रदान



काठमाडौं, ३ असोज । नेपाल–भारत महिला मैत्री समाजले महोत्तरीमा टेन्ट तथा त्रिपाल हस्तान्तरण गरेको छ । महोत्तरीको मटिहानी नगरपालिका तथा जलेश्वर नगरपालिकालाई भारत सरकारको सहयोग एवं नेपाल–भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा बाढी पीडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

नेपाल–भारत महिला मैत्री समाज काठमाडौंका अध्यक्ष एवं सांसद चन्दा चौधरीले टेन्ट २५ (पच्चिस), त्रिपाल ५०(पचास) गरी करीव ७५ (पचहत्तर) थान श्री राजकीय संस्कृत मा. वि. मटिहानीमा नगरप्रमुख हरि प्रसाद मण्डललाई हिजो असोज २ गते एक समारोहबीच हस्तान्तरण गरेकी हुन् । सो अवसरमा अध्यक्ष एवं सांसद चन्दा चौधरीले नेपालका विभिन्न जिल्लामा बाढी पहिरोबाट पिडीत परिवारहरुलाई भारत सरकारको सहयोगमा राहतस्वरुप टेन्ट/त्रिपाल वितरण गरिएको बताएकी थिईन् ।

मटिहानी नगरपालिकाका प्रमुख (मेयर) हरि प्रसाद मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीयहरु रामकुमार मंडल, उपेन्द्र चौधरी, विजय कुमार साह उमाँशंकर साह बैद्यनाथ मण्डल नागेन्द्र लाल कर्ण र प्रा. हेमनारायण लाल कर्ण लगायतका वक्ताहरुले प्राकृतिक प्रकोप लगायत अन्य क्षेत्रमा भारत सरकारको सहयोगको सराहना गरेका थिए । प्राप्त सामाग्री चाँडै प्रभावितहरुलाई वितरण गरिने कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताए ।

त्यस्तै हिजै अर्को एक कार्यक्रमका बीच नेपाल–भारत महिला मैत्री समाजले जलेश्वर नगरपालिकालाइ पनि २५ टेन्ट र ५० त्रिपाल हस्तान्तरण गरेको छ्र । जलेश्वरस्थित् नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष चन्दा चौधरीले जलेश्वर नगरपालिकाका प्रमुख रामा शंकर मिश्रालाइ उक्त टेन्ट तथा त्रिपाल हस्तान्तरण गरेको जनाईएको छ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुरेश प्रसाद सिंह, जलेश्वर नगरपालिकाकी उपमेयर मनचुन देवी, जिल्ला अस्पताल महोत्तरीका अध्यक्ष सुरेश पाण्डे, वडा नं. २ का अध्यक्ष वरुन दाहाल, वडा नं. १ का अध्यक्ष अनिल झा, वडा नं. ६ का अध्यक्ष रवीन्द्र साह लगायतका व्यक्तिहरुको उपस्थिति थियो । वितरण गरिएको टेन्ट तथा त्रिपाल सामग्री बाढी तथा अन्य प्राकृतिक विपद् बाट विस्थापित जनतालाइ अस्थायी आवासको रूपमा अत्यन्तै महत्वपूर्ण रहने वक्ताहरुले विश्वास व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्