Logo

लकडाउन नगर्ने मनस्थितिमा सरकार



काठमाडौं, ४ असोज । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी भीडभाड हुने समयमा दशैं लक्षित युवा परिचालन गर्ने निर्णय गरेको हो । परिषद्ले युवा स्वयंसेवक छनोट गर्ने, स्वास्थ्य मन्त्रालयले परिचालन गर्नुअघि तालिम दिने जिम्मेवारी तोकेको छ ।

छनोटमा परेका युवा स्वयंसेवकलाई काठमाडौं र ललितपुरसहित उपत्यकाका १८ स्थानीय तहको छनोट गरेका भीडभाड हुने स्थानमा परिचालन गर्ने भएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि युवा परिचालन गर्न लागेको जानकारी दिनुभयो । परिषद्ले छनोट गरेका युवालाई स्वास्थ्य मन्त्रालयले तालिम दिने बताउँदै उहाँले भन्नुभयो– ‘तीन दिनभित्र स्वयंसेवक छनोट गर्नेछां, ७ गतेबाट तालिम दिएर ९ गतेबाट खटाउने छौं ।’

युवा परिचालन गर्नुअघिको स्वास्थ्य मापदण्डबारे मन्त्रालयले, युवा परिचालन कार्यविधि परिषद्ले र परिचालन गर्ने स्थानको बारेमा स्थानीय तहले कार्ययोजना बनाउने ढुंगेलको भनाइ थियो । बैठकमा स्वास्थ्य मन्त्रालयका विज्ञ डा. खेम कार्की, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम, कार्यकारी उपाध्यक्ष ढुंगेल, उपत्यकाका स्थानीय तहका कोभिड सम्पर्क अधिकृत र परिषद्ले बोलाएका स्वास्थ्यविज्ञको सहभागिता रहेको थियो ।

मन्त्रालयले पहलो चरणमा नमुनाका रुपमा सय र त्यसपछि थप संख्यामा युवा परिचालन गर्ने तयारी गरेको छ । ढुंगेलले सरकारको आग्रहअनुसार कोरोना संक्रमणलाई नियन्त्रण गर्न र लकडाउनको विकल्पका रुपमा स्वयंसेवक परिचालनलाई उच्च प्राथमिकताका रुपमा लिएकोले परिषद्ले युवा स्वयंसेवक तयारी गरेको बताउनुभयो ।

यो मोडल सफल भएमा सबै स्थानीय तहका युवालाई तालिम दिएर स्वयंसेवकको रुपमा परिचालन गर्ने योजना रहेको छ । पहिलो चरणमा यही असोज ९ गतेदेखि कातिक ७ अर्थात् फूलपातीको दिनसम्म स्वयंसेवक परिचालन हुनेछन् । ती स्वयंसेवकले राजधानीको भीडभाड हुने क्षेत्रमा काम गर्ने खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्