Logo

चक्रपथको विस्तार संरचना हटाउने काम अन्तिम चरणमा



काठमाडौँ, ४ असोज। चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चक्रपथ क्षेत्रमा परेका संचरणा हटाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको त्यस खण्डमा परेका रूख कटान सम्पन्न भइसकेको छ । बिजुलीको पोल, खानेपानी तथा ढलका पाइप हटाउने काम अन्तिम चरणमा पुगेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । कलङ्कीदेखि धोबीखोलासम्म दुई हजार दुई सय रूख काटिएको छ ।

आयोजना प्रमुख अमृतमणि रिमालले चक्रपथको दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको खण्डको क्षेत्रमा परेका संरचनाहरू हटाउने काम अन्तिम चरणमा पुगेको बताउँदै ९५ प्रतिशत संरचना हटाउने काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । “बिजुली तथा टेलिकमका खम्बा र खानेपानी तथा ढलका पाइप हटाउने काम असोजभित्र सम्पन्न हुन्छ”, उहाँले थप्नुभयो, “चक्रपथ क्षेत्रमा परेका बूूढानीलकण्ठ विद्यालयको भवन भत्काउने काम भइरहेको छ । ” नयाँ बसपार्क अगाडि चक्रपथमा रहेको आकाशे पुल भत्काइने छ । उहाँले भन्नुभयो, “असोज ७ भित्र पुलमुनि रहेका पसल हटाउन सम्बन्धितलाई पत्राचार भइसकेको छ । पसल हटाएपछि एक हप्ताभित्र पुल भत्काइने छ । ”

मुुआब्जाका लागि प्रक्रिया

चक्रपथको सो खण्ड विस्तारको मुख्य समस्याका रूपमा रहेको महाराजगञ्ज क्षेत्रको जग्गा अधिग्रहणका लागि मुआब्जा लिन सम्बन्धित जग्गाधनीको नाममा दोस्रो सूचना जारी गर्ने तयारी भइरहेको आयोजना प्रमुख रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार यसै साताभित्र सूचना जारी गरिनेछ । जग्गाको मुआब्जा लिन यसअघि आह्वान गरिएको सूचनापछि ४९ वटा कित्तामध्ये जम्मा १९ वटा कित्ताको जग्गाधनीले निवेदन दिएका थिए । ती ४९ कित्तामध्ये केही जग्गामा २० वटा घर छन् । चक्रपथ विस्तारका लागि सो क्षेत्रमा कुल १५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

मुआब्जा लिन यसअघि असार २३ गते सूूचना जारी गरिएको थियो । गएको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा सडक सीमाको दायाँबायाँ ३१÷३१ मिटर जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । चक्रपथको ‘राइट अफ वे’ ६२ मिटर हुनुपर्नेमा महाराजगञ्ज क्षेत्रमा ३० मिटर मात्र छ । जुनसुकै डिजाइनमा विस्तार गरिए पनि महाराजगञ्ज क्षेत्रमा पर्ने घर भत्काउनुको कुनै विकल्प नरहेको आयोजना प्रमुख रिमालले स्पष्ट पार्नुभयो ।

तयारी कुरेर बस्दै छ चीन

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ । विस्तारका लागि नेपालतर्फको तयारी पूूरा हुन नसकेकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको जानकारी उहाँले दिनुुभयो । उहाँले भन्नुभयो, “चक्रपथ विस्तारका लागि चिनियाँ टोली नेपालको तयारी कुरेर बसेको छ । बिजुलीको पोल स्थानान्तरण, सडक क्षेत्रमा परेका संरचना हटाउने तथा जग्गा अधिग्रहणको काम पूरा भएको जानकारी हुने बित्तिकै चिनियाँ टोली नेपाल आई काम सुरु गर्ने हुनेछ । ” यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्