Logo

कोरोनाले अर्थतन्त्र र विकासको अभियानमा धक्का: प्रधानमन्त्री



काठमाडौ, असोज ४ । कोरोनाको त्रासकैबीच छैटौं संविधान दिवस टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर मनाइएको छ । सरकारले संविधान जारी भएको ऐतिहासिक दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ ।

संविधान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक जीवनलाई अस्तव्यस्त पार्ने र देखिने गरी उचाइ लिन लागेको कोरानाले देशको अर्थतन्त्र र विकासको अभियानलाई गम्भीर धक्का दिएको बताए ।

कोरोना महामारी रोकथामका लागि पहिलोपटक लकडाउन गरिएदेखि अहिलेसम्मै जनजीवन सामान्य हुन नसकेको बताउँदै उनले महामारीबाट धेरै नेपालीको जीवन गुमेकोप्रति दुःख व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने– ‘प्रकृतिको नियम हो, कस्तै महामारी र विपत्तिमा पनि समय रोकिँदैन । ऋतु फेरिन्छन् । जतिसुकै पीडा वा छटपटी रहे पनि मानिसहरु जीवनलाई निरन्तरता दिन्छन् । गौरवगाथा गाउने दिन गाउँछन््, स्मरण गर्नुपर्नेहरुलाई श्रद्धापूर्वक सम्झिन्छन् । प्रतिबद्धतालाई निरन्तरता दिन्छन्, बाँकी रहेको जिम्मेवारी पूरा गर्ने प्रण गर्छन् । महामारी र विपत्तिबीच हामी यिनै शोक र संकल्पहरुबीच यस वर्षको राष्ट्रिय दिवसमा सहभागी भएका छौं ।’

सरकारले महामारीलाई चुनौतीका रुपमा मात्रै होइन, अवसरका रुपमा समेत उपयोग गर्ने गरी चालू आर्थिक वर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको बताउँदै उनले भने– ‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका अहिलेसम्मको कामका तस्वीर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन् ।’

यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत वर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने अवस्था आउने बताउँदै प्रधानमन्त्री ओलीले केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुने विश्वास व्यक्त गरे ।

विगत तीन वर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक वृद्धिदरको लय समातेको तर दुःखको कुरा अहिले कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको बताउँदै उनले यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने र परिस्थितिलाई अनुकूल बनाउने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्