Logo

आज रानीपोखरीमा साढे ३ करोड लिटर पानी भरिँदै



काठमाडौं, असोज ४ । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरी पुननिर्माणसँगै आजबाट पानी भरीभराउ हुने भएको छ ।

पुनर्निर्माणअन्तर्गत पोखरी पिंधमा कालो माटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माण सकिएसँगै वर्षाको पानी जम्मा गरिँदै आएको थियो । पछिल्लो पटक बाग्मतीको पानी सुन्दरीजलबाट ल्याएर भर्ने काम भइरहेको छ । जुन अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्वविज्ञ राजुमान मानन्धरले आज आइतबार चार बजेसम्म पानी भरिसक्ने अनुमान सुनाए । ‘यसअघि आकासेपानी १ करोड लिटर भरिएको थियो, बाँकी २ करोड २२ लाख पानी सुन्दरीजलबाट ल्याएर भर्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिलेकै अवस्थामा आइतबार चार बजेसम्म भरिसक्ने अनुमान गर्न सकिन्छ ।’

पुनर्निर्माण प्राधिकरणले बाग्मतीको पानी पोखरीमा जम्मा गरेर ९ इन्चको पाइपबाट भरिरहेको हो । रानीपोखरीमा ३ करोड २२ लाख लिटर पानी भर्नुपर्नेमा शनिबार साँझसम्म ७५ लाख लिटर बाँकी रहेको प्राधिकरणले जनाएको छ । यसअघि, आकाशबाट खसेको पानी दरबार हाइस्कुलको छानाबाट पोखरीमा खस्ने व्यवस्था गरिएको थियो ।

प्राधिकरणले यसअघि मेलम्चीको पानी रानीपोखरीमा हालेर झार्ने योजना पनि अघि सारेको थियो । अहिले भने बाग्मतीको पानी हालेर भरिएको खवर आजको राजधानी दैनिकले छापको छ ।



प्रतिक्रिया दिनुहोस्