Logo

निर्दोष सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने



काठमाडौं, असोज ४ । निर्दोष सर्वसाधारणमाथि जबरजस्ती बल प्रयोग गर्ने र अमानवीय व्यवहार देखाउने प्रहरीलाई कारबाही गरिने भएको छ। बिनाकारण प्रहरीले सर्वसाधारणमाथि हातपात गरेपछि प्रहरीको सर्वत्र आलोचना हुन थालेसँगै प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको हो।

हातपात गर्ने प्रहरी र कमान्डलाई कारबाही गर्नका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा छानबिन टोली गठन भएको छ। टोलीले एक साताभित्र छानबिन प्रतिवेदन तयार पारी कारबाहीका लागि प्रहरी प्रधान कार्यालयसमक्ष सिफारिस गर्नेछ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सम्बन्धित प्रहरी र ड्युटीका खटिएका इन्चार्जलाई कारबाही हुने बताए।

उनले भने, ‘गल्तीका आधारमा सबैलाई कारबाही हुन्छ, पछिल्लो समय केही प्रहरीले अशोभनीय व्यवहार देखाएकोप्रति हामी गम्भीर छौं, गल्ती गर्नेलाई कारबाही निश्चित छ।’ काठमाडौंको माइतीघर मण्डला र नयाँ वानेश्वरमा शुक्रबार प्र्रहरीले सर्वसाधारणमाथि ज्यादतीपूर्ण व्यवहार देखाएको थियो। विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको समर्थन र संविधान कार्यान्वयनको विषयमा बोल्दा प्रहरीले लखेटीलखेटी कुटपिट गरेको थियो।

प्रहरीको कुटपिटपछि मनीष श्रेष्ठ र वसन्त पौडेल घाइते भएका थिए। श्रेष्ठ कुलमानलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाउन भन्दै समर्थन गर्न माइतीघर पुगेका थिए। उनलाई प्रहरीले बिजुली बजारसम्म लखेटेको थियो। प्रहरीको बुट र लाठीले घाइते भएका उनी ट्रमा सेन्टरमा उपचार गरी घर फर्केका छन्। सामान्य तरिकाले समर्थन गर्दा प्रहरीले क्रूर व्यवहार देखाएको श्रेष्ठले सुनाए। उनले भने, ‘हामीले त्यस्तो चर्काचर्की गरेकै थिएनौं, राम्रो व्यक्तिलाई ल्याउनुपर्छ भन्दा प्रहरीले नराम्रोसँग कुट्यो।’ उनको अवस्था सामान्य रहेको छ।

महामारीको बेला सरकारले निषेधाज्ञा खुकुलो पारेपछि सर्वसाधारण रोटीरोटीका लागि सडकमा निस्किएका छन्। तर, सामान्य विचार राख्दा र राम्रोको समर्थन गर्दा पनि प्रहरीले ज्यादतीपूर्ण व्यवहार देखाएको छ। यस्तो प्रवृत्तिले प्रहरी प्रशासनमाथि नै प्रश्न उठिरहेको छ।

संविधान दिवस र कार्यान्वयनबारे आफ्ना भनाइ राख्दै गरेका वसन्त पौडेलमाथि पनि प्रहरीले निर्घात कुटपिट गरेको थियो। वरिपरि भिडभाड नभए पनि प्रहरीले संविधानको विषयमा बोलेको भन्दै लखेटीलखेटी कुटपिट गरेको थियो। त्यहाँ प्रहरीले सञ्चारकर्मीलाई समेत धम्क्याएको थियो। त्यस्तै, बिहीबार बानेश्वर प्रहरी वृत्तका इन्स्पेक्टर केशर न्यौपाने नेतृत्वको टोलीले बबरमहलमा हन्डे«ड ग्रुपका अभियन्ता बब्लु गुप्तालाई निर्घात कुटेको थियो।

प्रहरीको व्यवहारप्रति मानव अधिकार आयोगले पनि असन्तुष्टि व्यक्त गरेको छ। आयोगले गल्ती गर्ने प्रहरीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरे पनि गल्ती गर्नेमाथि कारबाही नभएको आयोगको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्