Logo

भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक



काठमाडौं, असोज ४ । सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका निकायका पदाधिकारीलाइ पदकबाट विभूषित गर्ने निर्णय गरेको भन्दै जनस्तरबाट आलोचना भएको छ।

सरकारले ठूलो मात्रामा आर्थिक अनियमितता भएका मुद्दा तामेली राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख नवीनकुमार घिमिरेलाई प्रसिद्ध प्रबल जनसेवाश्री ९द्वितीय० पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। संविधान दिवस, २०७७ का उपलक्ष्यमा सरकारले घिमिरेलाई उक्त पदकबाट विभूषित गर्ने निर्णय गरेको हो।

अनियमितताका पर्याप्त प्रमाण हुँदाहुँदै पनि नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी फाइल छानबिन नगरी तामेलीमा राख्ने निर्णय गरेको आरोप लागेका घिमिरेलाई विभूषित गर्ने सरकारी निर्णयको सर्वत्र आलोचना भएको छ। अनुसन्धान टोलीले जग्गा खरिदमा अनियमितता भएकाले मुद्दा चलाउने निष्कर्षसहित तयार पारेको प्रतिवेदन घिमिरेको दबाबमा परिमार्जन गरी तामेलीमा राख्ने निर्णय भएको अख्तियार उच्च स्रोत बताउँछ। भष्ट्राचारका मुद्दा तामेलीमा राख्न लगाएर अख्तियारलाई कमजोर पारेको आरोप घिमिरेमाथि छ।

चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु(याएका डा। सन्दुक रुइत र समाजसेवी उज्जवलविक्रम थापासँगै भ्रष्टाचारीलाई उन्मुक्ति दिएको आरोप लागेका घिमिरेलाई पदक दिने सरकारी निर्णयको जनस्तरबाट व्यापक आलोचना हुुनु स्वाभाविक भएको नाम नबताउने सर्तमा एक सर्वसाधारणले बताए। सरकारले घिमिरेलाई मात्र होइन, अख्तियारका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङलाई पनि पदकले विभूषित गर्ने निर्णय गरेको छ। अन्य संवैधनानिक आयोगका पदाधिकारीलाई विभूषित गर्न कन्जुस्याइँ गरेको सरकारले अख्तियारका पदाधिकारीलाई भने खोजीखोजी पदक दिएको छ। सरकारले जोशीलाई सुकीर्तिमय राष्ट्रदीप ९तृतीय० र थापा गुरुङलाई सुप्रबल जनसेवा श्री ९तृतीय० पदकबाट विभूषित गर्ने भएको छ।

घिमिरेले अख्तियारको नेतृत्व गर्दा आयल निगम जग्गा खरिद प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, एनसेल कर प्रकरण, यति समूहलाई सरकारी जग्गा लिज प्रकरण, सेक्युरिटी प्रेस खरिद प्रकरण, ओम्नीमार्फत मेडिकल सामग्री खरिद प्रकरणमा संलग्नलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा ढाकछोप गर्ने काम भएको स्रोतको दाबी छ।

यति समूहलाई नेपाल ट्रस्टको नाममा रहेको दरबारमार्गको जग्गा भाडामा लगाउने विषयमा भएको अनियमितता ढाक्न ट्रस्टका पदाधिकारीलाई क्लिन चिट दिने काम पनि घिमिरेको दबाबमा भएको अख्तियारका एक अधिकारी बताउँछन्। यतिको भगिनी संस्था थामसेर्कुलाई ट्रस्टको जग्गा भाडामा दिँदा आर्थिक अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। तर, अख्तियारले यस विषयमा छानबिन नै नगरी ट्रस्टका पदाधिकारीलाई क्लिन चिट दिएको थियो।

नेपाल ट्रस्टमा बसेर गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई लिजमा दिन भूमिका निर्वाह गरेका सहसचिव राजेश्वर ज्ञवालीलाई पनि सरकारले जनसेवा सु–प्रबल पदकबाट सम्मानित गर्ने भएको छ। ज्ञवालीले गोकर्ण रिसोर्टको जग्गा यतिलाई लिजमा दिएर गौचरन हुनबाट जोगाएको विवादास्पद अभिव्यक्ति दिएका थिए। रिसोर्टको जग्गाको लिज समय सकिन ५ वर्ष बाँकी छँदै पुनः यतिलाई अवधि थप्ने प्रयोजनका लागि मूल्यांकन गर्ने समितिमा ज्ञवाली थिए। उनले यतिका पक्षमा चलखेल गरेको आरोप छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्