Logo

चीनले तीन महिनापछि भारतीय सेनासँगको झडपमा सैनिक मारिएको स्वीकार्यो



एजेन्सी, ४ असोज । चीनले तीन महिनापछि गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा आफ्ना सैनिक मारिएको स्वीकार गरेको छ । उसले भारतीय सैनिकको हताहतीको तुलनामा आफ्नोतर्फ निकै कमको मात्र हताहति भएको दाबी समेत गरेको छ ।

चीनको विदेश मामलासम्बन्धी धारणा सार्वजनिक गर्दै आएको ग्लोबल टाइम्सका सम्पादक हु सीजीनले १५ जुनमा गलवान उपत्यकाको झडपमा भारतको भन्दा निकै कम सैनिक मारिएको दाबी सहित लेख लेखेका छन् । चिनियाँ पक्षबाट उक्त घटनाबारे जानकार अधिकारीहरुको सूचना भन्दै ग्लोबल टाइम्सले लेखेको छ, उक्त भिडन्तमा भारतीय सैनिकको तुलनामा निकै कम चिनियाँ सैनिकले बलिदानी दिएका छन् । झडपका क्रममा चीनका सैनिक थोरै संख्यामा रहेको र उनीहरुले अन्तिम स्वासम्म बहादुरीका साथ लडेको भनिएको छ ।

ग्लोबल टाइम्सले कुनैपनि चिनियाँ सैनिक भारतीय सैनिकको नियन्त्रणमा नपरेको जनाएको छ चिनियाँ सैनिकको आक्रमणपछि कतिपय भारतीय सैनिक भीरबाट गुल्टने र नदीमा खस्ने अवस्था बनेको भनिएको छ । कतिपय भारतीय सैनिक नियन्त्रणमा लिइएको समेत ग्लोबल टाइम्सले लेखेको छ ।

उक्त घटनामा भारतले आफ्नोतर्फ २० जना सैनिकको ज्यान गएको खुलाइसकेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले मङ्गलबार गलवान उपत्यकामा १५ जुनमा भएको झडपमा चीनतर्फ निकै क्षति पुगेको दाबी गरेका थिए । स्केच स्रोत: ग्लोबल टाइम्स



प्रतिक्रिया दिनुहोस्