Logo

प्रदेश मन्त्रीले नै मनाए कालो दिवस



जनकपुर, असोज ४ । असोज ३ काला दिनु ब्यानरसहित प्रदेश २ का मन्त्री जितेन्द्र सोनलले संविधान दिवसलाई ‘कालो दिवस’ का रूपमा मनाएका छन्। कालो पहिरन र कालो फेटा बाँधेर मन्त्री सोनल प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा ‘कालो दिवस’ कार्यक्रममा सहभागी भएका थिए।

उनले कालो दिवसको जुलुसमा मात्र सहभागी भएनन्। करिब ५ मिनेटको आफ्नो मनतव्यमा यो संविधानलाई कालो संविधान भन्नुको साथै जनता समाजवादी पार्टीले नै यो संविधानलाई कालो संविधान भनेको दाबी गरे। यो संविधान एक नश्लीय हिसाबले जारी गरिएको छ,’ उनले भने, काठमाडौंमा दीपावली मनाइरहँदा मधेसमा ब्ल्याक आउट थियो। मधेसी, आदिवासी, मुस्लिमलगायत सीमान्तकृतलाई घरमा थुनेर बन्दुकको नालमा जारी गरिएको संविधान हामीलाई मान्य छैन,’ उनले भने। यो संविधान एक जाति, एक धर्म, एक नश्लको भएको उनको जिकिर थियो।

जसरी ०७२ सालमा कालो झण्डा, कालो पहिरन र कालो फेटा बाँधेर संविधानको विरोध गरेको थिएँ आज पनि त्यसैगरी गरेको छु,उनले भने। संविधानको मुटुमै प्वाल रहेको टिप्पणी गर्दै उनले भने, ुप्रस्तावनादेखि धारा उपधारामा कैयौं ठाउँ गडबडी छ।’ संविधान नसच्चिएसम्म कालो दिवस मनाइरहने उनको भनाइ थियो।

मन्त्री सोनले मात्र नभई प्रदेश २ सरकारले नै संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। प्रदेश सरकारले पार्टीकै निर्णय पच्छ्याउँदै प्रदेशभर १५ मिनेट बत्ती निभाएर ब्ल्याक आउट गर्न लगाएको उनले बताए। उनले भने, यो संविधानलाई हामीले मानेकै छैनौं, त्यसैले संविधान दिवस मनाउने कुरै भएन। उनले थपे, संविधान दिवस होइन, कालो दिवस मनाएका हौं।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्