Logo

ओली, देउवा र प्रचण्डभन्दा ज्ञानेन्द्र शाह सयौं गुणा बढि लोकतान्त्रिक छन् : डा. आचार्य (भिडिओसहित)



काठमाडौं, ४ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालको संविधान लेखाईको हिसाबले यसमा उल्लेख गरिएका कतिपय प्रावधानले बाहिरी देशका संविधानभन्दा फरक रहेको कुरा साँचो भएको स्पष्ट पारेका छन् । हिजो (शनिबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संविधानविद् डा. आचार्यले यस्तो बताएका हुन् ।

उनले भने,‘मौलिक अधिकार पनि कागजमा हेर्दा अरु देशको भन्दा बढि छ । समावेशिताको कुरापनि अरु देशको भन्दा बढि छ । तर, अब संविधान भनेको सजावटको लागि हुँदैन् । त्यो कार्यान्वयनको लागि हो । अब, कार्यान्वयनको लागि त उत्कृष्ट होईन, ठीक अपोजिट छ । उल्टो शब्द चाहीँ प्रयोग गर्नुपर्ने अवस्था छ ।’ आचार्यले संविधानसभाले बनाएका संविधान नै विश्वमा दुई÷तीन वटा भएको सुनाए । उनले भने,‘दुई/तीन वटाभित्र एउटा पर्नु भनेको के हो र ? कहिलेकाहीँ कुनै प्रतियोगितामा एक्लै भएर जितेका पनि रेकर्ड छन् । त्यो खालको हो यो । प्रतियोगिताविहीन भएकोले यसलाई उत्कृष्ट भन्न सकिएला ।’ यद्धपी संविधानका प्रावधान राम्रा भएको उनको भनाई छ ।

आचार्यले अहिलेका दलका नेताहरुलेभन्दा आफूले बढि संविधानको पालना गरेको पनि दाबी गरे । र, उनले भुरे, टाकुरे राजाभन्दा मुलुकमा एउटा राजा नै ठीक भएको पनि स्पष्ट पारे । उनले भने,‘राजसंस्था फर्काउन म चाहँदैन्, मेरो मुखबाट त्यो भनेको छैन् । तर, एउटा कुरा यो मुलुकमा त त्यो चाहिँदो रहेछ । यी भुरे, टाकुरे राजाभन्दा त एउटा राजा मुलुकलाई आवश्यक थियो । र, रैछ त्यो कुरा ।’ पत्रकार धमलाले तपाईं पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन लागेको हो ? भनेर सोधेको प्रश्नमा डा. आचार्यले भने–‘यो असान्दर्भिक प्रश्न हो । प्रश्न के हो भनेकी हिजो आन्दोलनमा थियौं । सबैभन्दा बढि लेख्नेमध्ये म पनि थिएँ । हिजो हामी रुल अफ ल का लागि लडेका थियौं । सामाजिक–आर्थिक न्यायका लागि लडेका थियौं । तर, यो खालको लुटतन्त्रको लागि चाहीँ हामीले गरेका थिएनौं क्या । मैले व्यवस्था खराब कहाँ भनेर ? पात्र खराब हो नि।’

उनले अघि भनेका छन्,‘तुलना गर्दाखेरि हिजोका राजाहरु यो देशका लागि सम्पूर्ण रुपमा बरु हितकारी रहेछन् क्या । अहिलेका यिनीहरु त राष्ट्रमाथि पनि बेईमानी गर्ने । संविधान र कानूनपनि पालना गर्नुनपर्ने । अनि तपाईं/हामी गरिब जनताबाट उठाएको करले उहाँहरुले मोज गर्नुभएको छ ।’ उनले अहिलेका नेताहरुभन्दा पूर्वराजा ज्ञानेन्द्र शाह नै सयौं गुणा बढि लोकतान्त्रिक रहेको दाबी गरे । उनले भने,‘ज्ञानेन्द्र त यी नेताहरुभन्दा सयौं गुणा बढि लोकतान्त्रिक छन् ।’ उनले संस्कारको हिसाबले पनि हिजोका राजाहरु अहिलेका नेताहरुभन्दा धेरै गुणा माथि रहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्