Logo

गोविन्द केसीले उठाउनुभएको सबै माग ठिक छन् : डा. झा



नेपाल स्वास्थ्य अनुशन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले कोरोना संक्रमणको अवस्था अझ नाजुक हुँदै गएको टिप्पणी गर्दै सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. झाले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. झासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सरकार कति सफल भयो ? पछिल्लो तथ्यांक तपाई दिनुहोस् । सरकारले गरेको कामको कुरा गरौँ आज ?

यो अब के भन्ने, यो त चण्डीपाठ गरेको गरेकै जस्तो भएको छ । यो कोरोनाको अवस्था अझ नाजुक हुँदैछ । पहिलेदेखि भन्दै आएको, हुँदै पनि गएका छन्, त्यसले गर्दाखेरि अझै पनि जोडदार किसिमले लाग्नैपर्छ । नभए अझै कठिन अवस्था आउँछ । किनभने लकडाउन खुल्यो । कहाँबाट कुन मान्छे आउन मिल्ने, नमिल्ने भन्ने कुराको हाम्रो निक्र्यौल नै भएन ।

संक्रमणको संख्या त बढेको बढेकै छ । अब हामीले के गर्ने त रोकथाम र नियन्त्रणको लागि ? जोखिममा गयो अब ? जताततै समस्या देखिन थाल्यो ?

समस्या देखियो जब हस्पिटलमा संक्रमण बढ्न थाले । त्यसको मूल कुरा टेस्ट बढाउने एरिया छुट्याउने भनेर पहिले पनि भनिएको हो । म्याक्सिमम टेस्ट गरेर एरिया नछुट्याईकन यो समस्या रहिरहने भयो । दुर्भाग्यवश टेस्टको समस्याले गर्दाखेरि अत्तोपत्तो नै छैन कि कुन एरियामा बढी संक्रमण छ भन्ने ठेगान नै भएन । लकडाउन खुल्यो । लकडाउन खुलेको त राम्रो कुरा भयो । कोरोनाले गर्दाखेरि हाम्रो स्वास्थ्यक्षेत्रमा पूरै प्रभाव पर्नसक्ने स्थिति म पनि देख्दैछु । म पनि तपाईको कुरामा पूर्ण सहमत छु ।

त्यसोभए हामीले काम गर्दाखेरि, फ्रन्टलाईनमा बस्दाखेरि समस्याहरू भोगिरहेका छौँ । डाक्टर, सुरक्षाकर्मी, सञ्चारकर्मीको पीडा छ । मलाई धेरैले भनेका छन्, हामी कसरी बच्ने ? यो अवस्थामा सरकारले चालेको कदम प्रभावकारी छ भन्ने तपाईको निष्कर्ष हो त ?

प्रभावकारी बनाउने जुन उपाय प्रयोग गर्नुपथ्र्यो । यो देशभरि लकडाउन गर्न सकिँदैन । अब त समस्या छ । यो कठिन अवस्था छ । जसरी लकडाउन खोलिएको छ, जसरी मान्छेहरू एक ठाउँबाट अर्को ठाउँमा जानको लागि छुट पाएका छन्, यस्तो बेलामा हामी आफँै बच्ने उपाय गर्नुपर्छ । सबैजना सजग हुनुपर्छ । सामाजिक दूरी पनि मेन्टेन गर्नुपर्छ । मास्क लगाउनुपर्छ, स्यानिटाइजर पनि प्रयोग गर्नुपर्छ । आफैँले सुरक्षा गर्ने बाहेक अर्को उपाय छैन ।

अहिलेको समस्याको समाधान गर्ने कुरा गरिरहँदाखेरि हाम्रो देशमा डाक्टरहरूको कुरा गर्दा तपाईहरूकै समस्या देखिएको छ ?

डाक्टरहरूको मागलाई सरकारले सम्बोधन गरेको छ कि छैन ? तपाईहरूलाई सुविधा दिएको छ कि छैन, फ्रन्टलाईनमा काम गर्नेहरूलाई ?
एशोसियसनले मन्त्रीज्युसँग पनि गएर भेटेको मैले समाचारमा त पढेको हो । उहाँहरूले गर्दै हुनुहुन्छ होला । गरिसकेपछिको कुराको जानकारी आएको छैन ।

त्यसोभए अहिलेसम्म तपाईहरूले पाउनुभएको छैन, सेवा÷सुविधाहरू । अब डाक्टर गोविन्द के.सी.को कुरा गरौँ । अनशनमा हुनुहुन्छ, सत्याग्रहमा हुनुहुन्छ । उहाँको मागलाई सम्बोधन गर्नुपर्छ भन्ने तपाईहरूको भनाईँ हो ? कसरी गर्ने ?

हो । डाक्टर गोविन्द के.सी. एकजना यस्तो व्यक्ति हुनुहुन्छ, नेपाली भूमिमा । नेपालले जन्माएको सुपुत्र नै हो जसको काम नै यो देश, समाज र स्वास्थ्यको बारेमा सोच्ने हो । सबै कुरा गोविन्द के.सी.ले ठिकै भन्नुहुन्छ । पदमा पुगेका व्यक्तिहरू जिम्मेवारीमा पुगिसकेपछि आलटाल गर्छन् । उहाँको माग कसरी सम्बोधन गर्नुपर्छ भन्ने पार्टीमा भएका व्यक्तिहरूले पनि बोल्नुभएको छ । त्यसले गर्दाखेरि जे/जे बोल्नुभएको छ, त्यही÷त्यही कुरा गरिदियो भने गोविन्द के.सी. को माग पूरा हुन्छ । यसमा कुनै धर्मसंकटमा पर्ने कुनै कुरा नै छैन । डा. गोविन्द केसीले उठाएको माग नितान्त रूपमा स्वास्थ्यको सुधारको लागि यो समाजमा सही दिशा पाउँछ भन्ने कुराको लागि नै हो । उहाँलाई एउटा व्यक्ति भनेर बाईपास गर्नु गलत कुरा हुन्छ । व्यक्तिगत स्वार्थ यदि छोड्ने हो भने केसीले उठाउनुभएको सबै माग ठिक छन् ।

डा. गोविन्द के.सी. को मागलाई पूरा गर्नमा सरकार तयार भएको मैले देखेको छैन । डा. गोविन्द के.सी. लाई सास फेर्न कठिन भयो भनेर समाचार बाहिर आउन थाल्यो । आज छैठौँ दिन भईसक्यो, सत्याग्रह गरेको पनि । उहाँलाई स्वास्थ्यमा समस्या देखिएको छ । यो अवस्थामा उहाँले अनशन तोड्ने कि नतोड्ने ?

उहाँले तोडन्े, नतोड्ने भन्ने कुरामा त म केही भन्न सक्दिनँ । तर उहाँले उठाएका कुराहरू जायज हुन् । तत्कालीन समयमा मन्त्री र प्रधानमन्त्रीज्युसँग सल्लाह गरेर सम्झौता गर्छौँ भनेर भनिएकै हो । सम्झौताका क्रममा केही कदमहरू उठार्ईएकै हुन् । तर पनि खुट्टा कमाई कमाईकन उठाईएको अवस्था छ । उहाँको माग सम्बोधन हुनुपर्छ । उहाँको जीवन रक्षा गर्नुपर्छ भन्ने मेरो पनि आह्वान हो । त्यसको लागि कसरी अगाडि बढ्ने हो ध्यान दिन जरुरी छ ।

चिकित्सक संघले जसरी साथ दिनुपथ्र्यो, साथ दिन नसक्ने अवस्थामा पुग्नुभएको हो तपाईहरू ?

चिकित्सक संघसँग साधारण सदस्य भएको हुनाले चिकित्सक संघका वर्तमान पदाधिकारीहरूले कसरी अगाडि बढ्ने भन्ने कुराहरू गर्नुभयो होला । म गाउँँतिर गएको हुनाले मकहाँ त्यस्तो अभिव्यक्ति आएको छैन । चिकित्सक संघमा जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ । उहाँले चिकिसत्कको लागि मात्रै होइन कि स्वास्थ्यको लागि समाजमा अगाडि बढ्नुहुन्छ । उहाँहरूले सोच्दै हुनुहुन्छ होला ।



प्रतिक्रिया दिनुहोस्