मन्त्रिमण्डल पूनर्गठनबारे छलफल सुरू, कार्यसम्पादन राम्रो भएकालाई निरन्तरता दिने तयारी


काठमाडौं, ४ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ । अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठनका लागि आफ्नो तर्फबाट तीन वटा विकल्प अघि सारेका छन् । उनले पूरै सेट परिवर्तन गरेर नयाँ ल्याउने, वा दुई वर्ष पूरा गरेकाहरुलाई हटाएर नयाँ ल्याउने वा कार्यसम्पादन हेरेर राम्रो गर्नेलाई दोहोर्याउने र कार्यसम्पादन त्यति सन्तुष्ट नभएकाहरुलाई विदाई गर्नुपर्ने विकल्प अघि सारेका छन् ।

नेकपाले तत्कालै मन्त्रिमण्डल पूनर्गठन गर्नेगरि छलफल अघि बढाएको छ । आजको बैठकमा पूर्णतः मन्त्रिमण्डल पूनर्गठनमा केन्द्रित रहेर छलफल भएको थियो । बैठकमा सहभागी भएका एक सचिवालय सदस्यले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा मन्त्रिमण्डल पूनर्गठनमा केन्द्रित रहेर छलफल सुरु भएको र आज सबै आ—आफ्नो धारणा राखेको सुनाए । उनकाअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अहिले पूरै सेट नै परिवर्तन गर्नेगरि मन्त्रिमण्डल पूनर्गठन गर्न नहुने भन्दै कार्यसम्पादनको आधारमा पूनर्गठन गर्नुपर्नेमा जोड दिएका थिए । उनले राम्रो काम गरेका मन्त्रीहरुलाई हटाउँदा राम्रो सन्देश नजानेतर्फ नेताहरुको ध्यानाकार्षण गराएका थिए ।
अध्यक्ष दाहालले मात्रै होईन, वरिष्ठ नेता झलनाथ खनालले पनि कार्यसम्पादनको आधारमा नै मन्त्रिमण्डल पूनर्गठन गर्नुपर्नेमा जोड दिएका थिए । उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पनि राम्रो र प्रभावकारी काम गरेका मन्त्रीहरुलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए । सचिवालय बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।