Logo

पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव



काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् । पौडेलले सो प्रस्ताव केन्द्रीय समिति बैठकमा समेत लैजाने तयारी गरेका छन् ।

‘महाधिवेशन नहुने अवस्था सिर्जना हुँदै छ, म्याद सकिएपछि पार्टीमा को सभापति ? कसलाई मान्ने ? त्यो अवस्था आउन दिनुहुन्न । बरु १३औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर भए पनि महाधिवेशन समयमा नै गरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले आइतबार एक भर्चुअल कार्यक्रममा भने ।

पौडेलले विधि र विधानलाई बचाउन पनि निर्धारित मितिमा नै महाधिवेशन गरिनुपर्नेमा जोड दिए । उनले सभापति शेरबहादुर देउवा कुनै हालतमा तोकिएको मितिमा महाधिवेशन नगर्ने पक्षमा उभिएको बताए । ‘विधि र विधान बचाउन पनि निर्धारित मितिमा महाधिवेशन गरौं भन्ने मेरो चाहना हो तर सभापति नै निर्धारित मितिमा महाधिवेशन होस् भन्ने पक्षमा हुनुहुन्न,’ पौडेलले थपे ।

महाधिवेशन नगर्ने मनसायबाटै केही जिल्लामा पार्टीको संरचना समायोजन अड्काइएको र क्रियाशील सदस्यता फाराम पठाउनसमेत बखेडा झिकिएको पौडेलले आरोप लगाए । पौडेलले पछिल्लो समय विभिन्न विभागमा धमाधम मनोनीत भएकाहरू फागुनपछि कुन भूमिकामा रहने भन्ने प्रश्न पनि गरेका छन् ।

‘पार्टी नेतृत्व नै ७ फागुनपछि काम चलाउ हुन्छ, यस्तो अवस्थामा हाल विभिन्न विभागमा मनोनीत साथीहरूको इज्जत के हुन्छ ?’ पौडेलले भने । वरिष्ठ नेता पौडेलले देउवाले आफूलाई शक्तिशाली देखाउन मात्रै विभाग गठन गरेको दाबी गरे ।

कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि पार्टीको १४औं केन्द्रीय महाधिवेशन तोकेको छ । कांग्रेसले पछिल्लो पटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको आजको राजधानी दनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्