Logo

बंगलादेशबाट पैंचो मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनीलाई



काठमाडौं, असोज ५ । नेपाल सरकारले बंगलादेशसँग पैचोंमा लिन लागेको ५० हजार टन युरिया मल नेपाल ल्याउने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले उक्त मल नेपाल ल्याउन शनिवार ठेक्का आह्वान गरेको छ ।

धानबालीका लागि युरिया मलको चरम अभाव भएपछि सरकारले बंगलादेशसँग मल पैंचो लिने प्रक्रिया अगाडि बढाएको थियो । ३ साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग यसबारेमा टेलिफोन संवाद गरेपछि बंगलादेशबाट मल ल्याउने प्रक्रियाले थप गति लिएको थियो ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडलाई दिएपछि मल नेपाल ल्याउन ठेक्का आह्वान गरिएको हो । मन्त्रिपरिषद् बैठकमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री वा साल्ट ट्रेडिङ कसलाई दिने भन्ने बारेमा लामै बहस भएको थियो । कृषिमन्त्री घनश्याम भुसाल यो जिम्मेवारी कृषि सामग्रीलाई दिनुपर्ने पक्षमा उभिएपछि त्यसैअनुरूप निर्णय भएको हो ।

कृषि सामग्री कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेशको चिटगावबाट मल नेपाल ल्याइँदै छ । ठेक्का आवेदन दिन ७ दिनको म्याद राखिएको छ भने ठेक्का सम्झौतालगायत सबै प्रक्रिया पूरा हुन करीब २५ दिन लाग्न सक्ने बताइएको छ ।

यसअनुसार पैंचो मल नेपाल आउन अझै करीब १ महीनाभन्दा बढी समय लाग्ने देखिएको छ । ठेक्का पाउने कम्पनीले नै बोरा छपाइ र मल प्याकेजिङलगायत काम गर्नुपर्ने शर्त राखिएको छ ।

कृषि मन्त्रालयका अनुसार बंगलादेशले आफूलाई आवश्यक पर्ने करीब १० लाख टन मल मौज्दात गरेको छ । त्यही मौज्दातबाटै उसले नेपाललाई मल उपलब्ध गराउँदै छ । यसरी ल्याइएको मल नेपालले पछि ग्लोबल टेन्डर गरी ८ महीनाभित्र बंगलादेशलाई फिर्ता गर्ने कृषि मन्त्रालयको योजना रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्