Logo

“मेरो कलम”



बिनोद पोख्रेल :

मेरो कलमले मलाई लेख्न भन्छ
छाती भित्र गुम्सिएर भरिएको
भावनालाई कहिले काहीँ पोख्न भन्छ
ती सफा सुन्दर कागजहरूमा
रङ्गी विरङ्गी शब्दहरू कोर्न भन्छ
न्यायको तराजु समाएर
मेरो धड्कनलाई जोख्न भन्छ !!

मैले त्यहाँ सत्य भित्र पनि
फनफनी बेरिएर बसेको
एउटा ठुलो जाल देख्दै छु
आदि तुफान बिना उछालिइएको
समुन्द्र भित्र एउटा ठुलो छाल देख्दै छु
प्राकृतिक सुन्दरताको कसी भित्र
यति धेरै कृत्रिम तालहरू देख्दै छु !!

जब म कलम समाएर बस्छु
झुटको बखान होइन
सत्यलाई मैले लेख्नु पर्छ
अन्यायको चित्कार सुन्दै
न्यायको आवाज बोल्नु पर्छ
कपोल कल्पित र अफवाहहरु होइन
तितो भए पनि यथार्थ मैले खोल्नु पर्छ !!

मेरा शब्दहरूले नै मलाई
कहिले काहीँ गिज्याउने गर्छन्
तर पनि म केही लेख्न खोज्छु
अँध्यारो भित्रबाट चियाउँदै
मध्यरातमा पनि केही देख्न खोज्छु
निरन्तर प्रहार गरेका दृश्यहरू
आफ्नै हत्केलाले पनि छेक्न खोज्छु!!

सजिलो छल छाम को भाषा भन्दा
मलाई अप्ठ्यारो भाषा मन पर्छ
र त म सहज रूपमा लेख्न सक्दिन
मिठा शब्दहरूको रस पिए पनि
तितोको स्वाद मैले देख्न सक्दिन
नजिकै छेउमै छुरी बोकेर बसे पनि
रगतको छिटालाई मैले मेट्न सक्दिन !!

कहिले काहीँ मेरा यी औलाहरू
पसिनाले भिजेको कलम समाउँदा पनि
चिसोले थर थर काँप्ने गर्छन्
मन भित्र बहकिएको भावनालाई
रङ्गिन फित्ताले नाप्ने गर्छन्
उज्यालो प्रहर खुल्नु भन्दा अगाडी
अन्धकारमै कालो माला जप्ने गर्छन् !!

तुल्सिपुर- १८, बिजौरी दाङ
हाल: ह्युस्टन टेक्सास



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम