बा’संगको वास्तबिक भलाकुसारी (बा र दशैं)


उज्जल धमला “बिबस’’ : बैशाख महिनाको समय थियो बा, भान्जा र म मकै छर्न गैराबारीतिर लम्कँदै थियौं । गोरु धपाउँदै भान्जाबाबु मुसुमुसु हाँस्दै थिए । र सेल्फितिर बनी ब्यस्त नै देखिन्थे। बा एक हातमा नारा, जोतारो र बीउ मकैको पोको बोक्दै हुनुहुन्थ्यो । म भने एक हातमा जुवा र काँधमा हलो राखेर सुसेल्दै थिएँ । अनि कम्मरमा खुर्पीठ्याक बजीरहेको थियो, बा’ले गोरु नार्नुभयो । अनि जोत्न थाल्नुभयो । यत्तिकैमा मैले म जोत्छु नि भन्दा बा’ले हाँस्दै भन्नुभयो–तिमिहरुले गोरु जोत्न जानेको छैन । म कचौरीबाट बा’ले जोत्नु भएको हलोको सियोमा मकै खसाल्दै थिएँ ।

अनि बा भन्दैहुुनुहुन्थ्यो, तिमिहरुले जोत्यौ भने गोरु तर्किन्छ, मेलो लाग्दैन । गोरुले चिनेको छैन पनि भन्दैहुनुहुन्थ्यो । अनि मुस्कुराँउदै भान्जा बाबू प्रश्न गर्दै थिए–बा गोरुले पनि मान्छे चिन्ने र नचिन्ने हुन्छ र ? अनि बा’लाई मैले बुझिनँ नी भन्दै गर्दा बा’ले हाम्रो खुल्दुली मेटाउने प्रयास गर्नुभयो । अनि भन्नुभयो बायाँ गोरु गाजले दायाँ लाले म छक्क परेँ, नपरुनी कसरी गोरु पनि दाँयाबाँया हुँदारैछन । है अनि फेरि किन बेस्सरी नहिडाँउनु भएको त? भन्दा भन्दैहुनुुन्थ्यो–यो बारिमा अलि बेस्सरी ढुङ्गा लाग्छ हलो भाँचिन सक्छ त्यहीभएर बिस्तारै हिँडाएको, यसरी नै उहाँसंग अनेक तर्क र बितर्क गर्दै गर्दा थप बा’बाट केही कुराहरु जान्ने अबसर पायौं । यत्तिकैमा बा कता कता रोकिनुभयो र भन्न थाल्नुभयो ।

कलकत्ता मा छँदा काठ कारखानामा १८–२० साल काम गरेकोबारे बताउन थाल्नुभयो । मैले काम गर्ने काठ कारखानाबाट काठको भुस र दाउरा बेच्ने गर्थें। मलाई सबैले लोभी भनेर जिस्काँउथे । तर मैले मनमनै सोच्थेँ। कलकत्तामा ती दाउरा र भुस बेचेको एक डेढ सय रुपैयाँले दिदी र तँलाई कापी, कलम किन्न हुन्छ, बा’को यो कुराले मलाई नराम्रोसंग हिर्कायो । र, ती दिनसम्म पुरायो बा र दशैँ ।

हरेक ४/५ सालमा एकपटक आँउथे, एक जोड गहिरो आँखा र मलाई चुपचाप प्रश्न गर्थे–छोरा अब त भईस् ठुलो ? कहिले बाँड्छस् दुःख ? कहिले सक्छस् साहुको ऋण? र बा’लाई निर्दोष आँखाहरुबाट प्रश्न फर्काउँथे । कति पोलेको थियो होला कलकत्ताको घामले? कति पोलेको थियो होला दिदी र मेरो यादले? कति पोल्दो साहुको साँवाले? कति पोल्दो हो आफ्नै अधुरा रहर र कहिल्यै नसकिने दुःखले । चार÷पाँच सालमा एकपटक आँउथ्यो । आँगनमा प्यारले पालेको तिल्कने खसी ढालिन्थ्यो । मधुसमा नयाँ नोटहरु त्यो दिन! दशै हुदैनथ्यो । मन दशै हुन्थ्यो । किनकी बा आएको साल आएकै दिन दशंै आँउथ्यो, घरको पालिको खम्बामा नाईलनको पिङ हुन्थ्यो । बा नआएको साल दशैको दिन पनि दशैजस्तो हुँदैनथ्यो ।