मन्त्रिमण्डल पूनर्गठन गर्दा योग्य र सक्षम व्यक्ति ल्याईयोस : पोखरेल


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मन्त्रिमण्डल पूनर्गठन गर्दा अब काम गर्नसक्ने सक्षम र योग्य व्यक्तिहरु ल्याउनुपर्ने सुझाव दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘कोरोनापछि देशको सामाजिक, आर्थिक भार परेको छ, त्यसलाई नयाँ दिशातर्फ अगाडि लग्नसक्ने, प्रतिपक्ष र पार्टीभन्दा परका व्यक्तिहरूको राय–सुझाव लिएर देशलाई अगाडि लग्नसक्ने, देशलाई नयाँ तरिकाबाट हाँक्न सक्ने व्यक्तिहरू मन्त्रिमण्डलमा ल्याउँदाखेरि राम्रो हुन्छ ।’ प्रस्तुत छ नेता पोखरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईले झलनाथ खनालको अन्र्तवार्ता सुन्नुभयो ? मन्त्रीमण्डल पुनर्गठन गर्दा कस्ता मान्छेहरू आउनुपर्छ ? कांग्रेसको भनाई के छ ?

मन्त्रिमण्डल त अब काम गर्नसक्ने, सक्षम व्यक्तिहरू र अहिले जुन उहाँहरूले साँढे दुई वर्ष सरकार चलाउनुभयो, त्यो सरकार चलाउँदाखेरि जुन अवसर प्राप्त गर्नुभयो, कार्यक्षमता प्रदर्शन गर्न, कहाँ–कहाँ अप्ठ्याराहरू थिए, शिक्षा, स्वास्थ्यका क्षेत्रमा, सबै क्षेत्रमा भएका अप्ठ्याराहरूमा नीतिगत सुधारहरू ल्याउन सक्ने, लगानीको माहोल सिर्जना गर्नसक्ने र यो कोभिड–१९ पछि विशेषगरेर कोरोनापछि देशको सामाजिक, आर्थिक भार परेको छ, त्यसलाई नयाँ दिशातर्फ अगाडि लग्नसक्ने, प्रतिपक्ष र पार्टीभन्दा परका व्यक्तिहरूको राय–सुझाव लिएर देशलाई अगाडि लग्नसक्ने, देशलाई नयाँ तरिकाबाट हाँक्न सक्ने व्यक्तिहरू मन्त्रिमण्डलमा ल्याउँदाखेरि राम्रो हुन्छ ।

कम्युनिष्ट पार्टीको कुरा गर्दाखेरि प्रधानमन्त्रीले भन्नुभएको छ–नयाँ र पुराना राम्रा कामहरू गर्नेलाई क्याबिनेटमा निरन्तरता दिनुपर्छ । तपाईँलाई के लाग्छ, अब सबै मन्त्रीहरू हटाएर नयाँ अनुहारहरूलाई लिएर जान सकिन्छ, क्याबिनेटमा ?

होइन यो त अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कुरा हो । प्रधानमन्त्रीले कसलाई मन्त्री राख्न चाहनुहुन्छ, त्यो त उहाँको व्यक्तिगत चाहना पनि हुन्छ । त्यो पार्टीको निर्णयमा हाम्रो भन्नु केही छैन । हामीले चाहना राख्ने हो कि अहिले नाजुक अवस्थामा पुगेको छ, वैदेशिक सम्बन्ध । ईतिहासमै भन्दा नराम्रो अवस्थामा पुगेको छ । आउँदा दिनमा हाम्रा विकासका बाटाहरू, समृद्धिका बाटाहरू, हाम्रा कुटनीतिका बाटाहरू एकदम अप्ठ्यारोमा जाँदैछन् । त्यसकारण यी कुराहरू सम्बोधन गर्न सक्नेगरी टिम बनाउने उहाँलाई अधिकार छ । हामीले त केबल चाहनामात्रै राख्न सक्छौँ ।

मैले त धेरै विषयवस्तुमा बहस गरेको छु । मधेशमा पनि त्यस्तै विसंगतिहरू छन् । अझैपनि त्यहाँ मान्छेलाई बोक्सीको आरोपमा यातना दिन्छन् । पञ्चायती कानुन छ त्यहाँ अझैपनि । तपाईंले कस्तो अवस्था पाउनुभएको छ ?

सरकारको यो कार्यशैली त मलाई जहाँसम्म नेपाली कांग्रेस त विपक्षी पार्टी भयो । नेपाल कम्युनिष्ट पार्टीका साथीहरूले पनि देशको सबै चुनावमा अरू पार्टी पनि सरकारमा आउँछन्, बहुदलीय व्यवस्थामा त कहिले कुन दल सरकारमा आउँछ, कहिले कुन दल सरकारमा आउँछ । तर सत्ताधारी पार्टीका साथीहरूले पनि सरकार गलत मार्गमा जाँदैछ भनेपछि उहाँहरूले पनि सरकारलाई अलिकति चेतावनी दिने, सरकारलाई सही बाटोमा डो¥याउने लक्ष्यसहित जानुपर्छ ।

विपक्षी दलले पनि केही गर्न सकेन । नेपाली कांग्रेस पनि असफल भएको छ । कांग्रेस पार्टी पनि सुतेको सुतेकै छ । चलायमान हुन सकेको छैन । कुनैपनि एजेण्डामा सरकारलाई दबाब दिन सकेको छैन नि ?

हाम्रा केही कमी/कमजोरीहरू होलान् । हामी पनि कस्तो भने यो आगो लगाउने, राज्यको धनसम्पत्ति तोडफोड गर्ने आन्दोलन नेपाली कांग्रेसले गर्नुहुँदैन । नेपाली कांग्रेसले संसदमा, सडकमा, बस्तीबस्तीमा चेतना दिने काम हो । जागरणको कार्यक्रम हामीले गरेका थियौँ ।

तपाईहरूले अहिले केही गर्न सक्नुभएको छैन ? सात महिनामा तपाईहरूले सिन्को पनि भाँच्नुभएको छैन नि ?

लकडाउनको बेलामा हामीले सरकारलाई सहयोग गरेका छौँ, संक्रमण नबढोस् भनेर । तर नेपाली कांग्रेसले यस्तो रचनात्मक काम गरेको छ कि कार्यदल बनाएर सरकारलाई कस्तो बजेट ल्याउनुपर्छ ? भनेर लागेको छ ।

त्यो कुरा जनताले देखेका छैनन् नि त, जनता त अहिले समस्यामा छन् । तर, तपाईंहरुले केही पनि गर्न सक्नुभएन ?

तत्कालको समस्याको लागि हाम्रो पूर्वअर्थमन्त्री डा. रामशरण महतजीको कार्यदल बनाएर सकारात्मक काम गरेका छौँ ।

FILE PHOTO/ReportersNepal