Logo

सिसी क्यामेराको निगरानीमा मालपोत कार्यालय



तनहुँ, ५ असोज: मालपोत कार्यालय तनहुँको गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेर्कडसहितको सिसी क्यामेरा जडान गरिएपछि सो कार्यालयको गतिविधिको निगरानी भइरहेको हो ।

मन्त्रालय र विभागले सबै मालपोत कार्यालयमा सिसी क्यामेरा जडान गर्ने अभियान थालेको छ । सिसी क्यामेरामा रेर्कड भएका कुरा छ महिनासम्म सुरक्षित रहने मालपोत कार्यालय तनहुँले जनाएको छ । सिसी क्यामेरा जडानले लेखापढी कानून व्यवसायी र कर्मचारीबीच हुने भनिएको आर्थिक चलखेल र अनियमितता पूर्णरुपमा अन्त्य हुने विश्वास गरिएको मालपोत कार्यालय तनहुँका प्रमुख शेरबहादुर भण्डारीले बताए ।

उनका अनुसार कार्यालयको सुरक्षा, कर्मचारीद्वारा सेवाग्राहीलाई गरिने व्यवहार, कार्यमा पारदर्शीता, अभिलेखको सुरक्षालगायतका क्षेत्रमा सिसी क्यामेराबाट निगरानी बढाइएको छ । “कार्यालयको १५ वटै कोठामा सिसी क्यामेरा जडान गरिएको छ”, उनले भने, “सिसी क्यामेरा जडान पश्चात लेखापढी कानून व्यवसायीलाई कार्यालयको फाँटमा पस्न रोक लगाइएको छ ।”

कार्यालयले महिला, दलित, जनजाति, शहीद, अपाङ्गता र कृषि फार्मको लागि रजिष्ट्रेशन पास गर्दा २५ प्रतिशत राजश्वमा छुटको व्यवस्था गरेको छ । प्रायः दैनिक भीडभाड हुने यो कार्यालयमा कोभिड– १९ का कारण पछिल्लो समय सुनसान जस्तै देखिएको थियो । अहिले पुनः सेवाग्राहीको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयले आव ०७५-७६ मा रु २८ करोड ५८ लाख ६९ हजार १९९ र आर्थिक वर्ष ०७६÷७७ मा रु २४ करोड ४६ लाख ४८ हजार ८४ राजश्व सङ्कलन गरेको जनाएको छ ।

लकडाउनका कारण करिब तीन महिना कार्यालय बन्द नै गर्नुपरेकाले यस आवमा राजश्व सङ्कलनमा अझै कमी आउनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख भण्डारीले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्