Logo

फरार मुद्दाका १३४ पक्राउ



तनहुँ, ५ असोज: जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ ।

जिल्ला अदालतबाट फैसला भई दण्डजरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई प्रहरीले असारको दोस्रो सातादेखि खोजी कार्यलाई तीव्रता दिँदै आएपछि उनीहरु पक्राउ पर्न थालेका हुन् । गत असारमा नौ, साउनमा ४५, भदौमा ५४ र असोज चार गतेसम्म २६ गरी कूल १३४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जरिवाना भुक्तान बाँकी रहेका व्यक्तिबाट हालसम्म रु २३ लाख १५ हजार ८५३ रकम सङ्कलन भएको छ । ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजानिक अपराध, तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्