Logo

देउवा महाधिवेशनको मिति सार्ने तयारीमा, पौडेल विशेष महाधिवेशन माग्ने रणनीतिमा



काठमाडौं, ५ असोज । फागुनमा गर्ने भनिएको नेपाली काँग्रेसको महाधिवेशन सर्ने निश्चित छ । विधान अनुसार एक वर्ष सार्न सकिने व्यवस्थाको प्रयोग गरिसकेको काँग्रेसले अब संवैधानिक व्यवस्थाको प्रयोग गरी छ महिना पछि सार्न सक्छ ।

सविधानमा हालको व्यवस्था अनुसार काँग्रेसले विशेष परिस्थिति देखाउँदै अर्को वर्षको भाद्रसम्म महाधिवेशन गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष महाधिवेशन नहुने निश्चित भएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन सार्न आवश्यक प्रक्रिया बढाइसकेका छन् । त्यसका लागि १९ असोजमा पार्टी केन्द्रीय कमिटी बैठक डाकिएको छ । बैठकको एजेन्डा १४ औं महाधिवेशनको कार्यतालिका संशोधनसहित नयाँ मिति तोक्ने रहेको छ ।

महाधिवेशनको तयारीका लागि काँग्रेसले अझैसम्म क्रियाशील सदस्यको टुंगो लगाइसकेको छ । नगर, क्षेत्रीय र जिल्ला कमिटीहरुको निर्वाचन भइसकेको छैन । यसकारण पनि महाधिवेशन पर सर्न सक्छ । तर, काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर महाधिवेशनमा तोकिएको मितिमा हुनुपर्नेमा जोड दिदै आएका छन् ।

पौडेल पक्षधरले आगामी रणनीति तय गर्न छुट्टै छलफल बढाइसकेको छ । देउवाले आउँदो वर्षमा समेत महाधिवेशन गर्नेमा आशंका व्यक्त गर्न थालिएको छ । आउँदो वर्ष महाधिवेशनको मिति सरेमा स्थानीय चुनाव नजिकिइसकेको हुनेछ । त्यस्तो अवस्थामा देउवाले प्रधानमन्त्री ओलीसँग मिलेर महाधिवेशन २०७८ मा पनि गर्नुनपर्ने कानुनी व्यवस्था निर्माण गर्ने आशंकाहरु बढेका छन् । त्यसैले पौडेल पक्ष गम्भीर भएको छ ।

पौडेल पक्षधरले विशेष महाधिवेशनको माग जोडदार रुपमा सार्ने रणनीति बनाउँदैछ । विशेष महाधिवेशन बोलाएर भएपनि पार्टी कसरी बढ्ने भन्नेबारे टुंगो लगाउनेबारे छलफल बढाइने पौडेल पक्षको तयारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्दै पौडेल पक्षधरभित्र आवाज बढ्दै जाँदा महाधिवेशन सर्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्