Logo

सरकारलाई संसदीय समितिको निर्देशनः ‘विज्ञापन बोर्ड गठन गरी समयमै क्लिन फिड लागु गर्नू’



काठमाडौं, असोज ६ । सरकारले क्लिन फिड लागू गर्न ढिलाइ गरिरहेका बेला संसद्को विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी ‘क्लिन फिड’ लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।

विज्ञापन नियमन ऐनमा भएको बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टीभी च्यानलहरूलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो ।

समितिको निर्देशनमा विज्ञापनरहित हुन नसक्ने च्यानलहरूको प्रसारण रोक्न भनिएको छ । समिति सभापति कल्याणीकुमारी खड्काका अनुसार विज्ञापनरहित हुन नसक्ने च्यानलहरूको प्रसारण रोक्न सञ्चार मन्त्रालयले बनाएको कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न निर्देशन दिइएको छ ।

विज्ञापन ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरूको प्रसारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे पनि मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न समितिले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

संचार मन्त्रालयका अनुसार विज्ञापन बोर्ड गठनका लागि नियमावली यही साताबाट कार्यान्वयनमा ल्याउने तयारी छ । बोर्ड गठनका लागि मन्त्रिपरिषद्मा नियमावली पुगे पनि स्वीकृत नहुँदा समस्या भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्