Logo

६ महिनापछि आन्तरिक उडान



पोखरा, असोज ६ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएसँगै ६ महिनादेखि बन्द आन्तरिक नियमित हवाई उडान सोमबारदेखि पुनः सुरु भएको छ। लामो समय उडान बन्द रहँदा वायुसेवा कम्पनीहरूले १० अर्बभन्दा बढी नोक्सानी व्यहोरेका छन्।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडान पनि सञ्चालन भएका हुन्। अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएर उडान सुरु भएको वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले बताए। बुद्ध एयरको विमानबाट पहिलो फ्लाइटमा सोमबार वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष थापासहितको टोली पोखरा आएका थिए।

यात्राको क्रममा विमानका पाइलट, प्राविधिक, क्रु मेम्बरलगायत कर्मचारी र यात्रुले कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको पाइएको संघका अध्यक्ष थापाले जानकारी दिए। यात्रुले यात्रा अवधिभर कुनै झन्झट नमानी माक्स र भाइजर लगाएका थिए। यात्रा गर्नुअघि विमानस्थलमा ज्वरो नाप्ने, झोला सेनिटइज गर्ने, यात्रुले साबुनपानीले हात धुने र सेनिटाइजर लगाउने व्यवस्था मिलाइएकाले हवाई यात्रा सुरक्षित रहेकाले ढुक्कका साथ यात्रा गर्न संघका अध्यक्ष थापाले अनुरोध गरे।

विमान पोखरा विमानस्थल अवतरण गरेर यात्रु झरेपछि यात्रुले छुने जहाजको पार्टमा सेनिटाइज गरिएको थियो। जहाजमा चढ्दा र ओर्लदा डिस्टेन्स मेन्टेन गरी ५÷५ जना यात्रुलाई ओर्लन र जहाज चढ्ने व्यवस्था मिलाइएको थियो। यसरी विमानस्थलमा पुगेदेखि जहाजको यात्रा अवधिभर र ओर्लेर गन्तव्यतर्फ नगएसम्म उच्च सतर्कता अपनाइएको र यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पु¥याउन सक्षम रहेकाले ढुक्क भएर यात्रा गर्न यात्रुलाई संघका अध्यक्ष थापाले अनुरोध गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्