Logo

कति खर्च गर्दैछ नेकपाले केन्द्रिय सदस्यको जीवन निर्वाह भत्ताका लागि?



काठमाडौं, असोज ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव पेश भएपछि आन्तरिक छलफल तीव्र पारिएको छ। नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले पत्रकार सम्भेलनमा आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव पेश भएको जानकारी गराएका थिए।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेकपामा तत्कालीन एमाले समूहबाट २४१ र तत्कालीन माओवादी समूहबाट २०० केन्द्रीय सदस्य छन्। पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकमा नयाँ चार जना मनोनयमा परेपछि नेकपा केन्द्रीय समिति ४४५ जना सदस्य रहेका छन्।

उनीहरुमध्ये केही राजदूत बनेका र मृत्यु भएका सदस्यको घटाउँदा करिब ४४० जना केन्द्रिय सदस्य हुन आउँछ। जसमध्ये पनि कतिपय केन्द्रीय सदस्य, संघीय सांसद, प्रदेश सांसद र मेयर बनेकाको संख्या घटाउँदा करिब २५० जनालाई जीवन निर्वाह भत्ता दिनुपर्ने नेकपा वृतमा चर्चा छ।

कति रकम आवश्यकता पर्ला ?

नेकपा कार्यालय सचिव ईश्वरी रिजालले सांसद, राजदुत र राजनितिक नियुक्ति खाएका नेताको संख्या कटाउँदा करिब २५० जना केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता पार्टीले दिनुपर्ने आवश्यकता रहेको बताए।

सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई न्यूनतम १५ हजारदेखि २५ हजारसम्म जीवन निर्वाह भत्ता दिने विषयमा छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ। जसअनुसार २५० जना केन्द्रीय सदस्यलाई न्यूनतम १५ हजार दिँदा ३७ लाख ५० हजार हुन आउँछ भने २५ हजारका दरले दिँदा ६२ लाख ५० हजार रकम आवश्यक पर्छ।

यसभन्दा अगाडि नेकपाले नेताहरुलाई श्रमसँग जोड्ने आन्तरिक सर्कुलर जारी गरेको थियो। तर अहिले पार्टीले जीवन निर्वाह भर्ता दिन लागेको हो। नेकपाले आफ्ना मन्त्री, सांसद, राजनीतिक नियुक्ति खाएका व्यक्तिको लेबिबाट उठेको रकमबाट केन्द्रीय सदस्यलाई तलब दिन लागेको हो। नेकपाले अहिले सांसदबाट १२ हजार र मन्त्रीबाट १५ हजार रकम उठाउँदै आएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्