Logo

बढ्दै बलात्कारका घटना



काठमाडौं, असोज ६ । बलात्कारका घटना बढिरहेको बेला एक सांसदले यसलाई झन् प्रोत्साहन गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सर्वत्र आलोचना भएको छ। सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा बलात्कारका अधिकतर मुद्दा ‘फेक’ हुने गरेको अभिव्यक्ति दिएका हुन्।

तर, नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार गत साउन र भदौमा मात्र ४ सय २० वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। घटना बढिरहेको बेला सांसद विडारीले टेलिभिजनमा दिएको अभिव्यक्तिमाथि पूर्वप्रधानमन्त्री र मानव अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले विरोध गरेका छन्।

सांसदले नै बलात्कारजस्तो जघन्य अपराधलाई हल्का बनाउने गरी बोलेको विषयबारे सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। अन्तर्वार्ताका क्रममा विडारीले पछिल्लो समय उमेर पुगेर र सहमतिबाट भएका शारीरिक सम्बन्धलाई पनि बलात्कारमा परिणत गर्न थालिएको बताएका छन्।

उनले भनेका छन्, ‘सहमतिमा इन्जोय गर्ने र कुरा नमिलेपछि मुद्दा लगाइदिने गरेका छन्, ९० प्रतिशत बलात्कार मुद्दा सही होइनन्, त्यो मुद्दा मैले हेर्दिनँ, अहिलेको कानुनले बलात्कार वा डिभोर्सपछि सम्पत्ति दिनुपर्ने व्यवस्था गरेको छ, त्यसकारण पनि सहमतिको शारीरिक सम्बन्ध बलात्कार हुने गरेको छ।’

उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जाल ट्विटरमा भाइरल भएको छ। उनको उक्त भिडियोमाथि मानव अधिकारकर्मीले विरोध तथा टिप्पणी गरेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्