Logo

प्रहरी हिरासत नै असुरक्षित



कैलाली, असोज ६ । धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई पसलबाट मोबाइल चोरीको आरोपमा गत भदौ २१ गते प्रहरीले पक्राउ ग¥यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा उनलाई राखियो। गत शुक्रबार बिहान हिरासतभित्रै रहेको शौचालयमा उनको रहस्यमय मृत्यु भयो। शौचालयमा आफूले लगाएको सर्ट फुकालेर झुण्डिएर युवकको मृत्यु भएको प्रहरीको भनाइ छ।

तर युवकको शव हेर्दा नाकबाट रगत बगेको, निधारमा, आखाँमा र मुखमा चोट देखिन्छ। पीडित परिवारले रोशनको हत्या भएको बताएका छन्। खबर पाएपछि प्रहरीले उनलाई झुण्डिएको अवस्थाबाट निकालेर अस्पताल लगेको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए। ‘झुण्डिएको अवस्थामा हल्का चाल देखेर बचाउन सकिन्छ कि भनेर उद्धार गरेर अस्पताल लग्यौं,’ उनले भने, ‘झुण्डिएको तस्बिर खिच्न पनि ध्यान भएन।’

मृतकको नाकबाट रगत बगेको, निधारमा, मुख र आखाँमुनि चोट तथा निलडाम रहेको देखिन्छ। मृतकका आफन्तले भने शरीरभरि निलडाम भएकाले युवकको हत्या भएको बताउँदै आएका छन्। ‘छोराको टाउको, मुख र शरिरभरि चोटपटक भएकाले कुटपिट गरेर हत्या गरिएको हो,’ रोशनका बुबा टेकबहादुरले भने।

झुण्डिने बेला छटपटाएर भित्तामा टाउको लागेर चोटपटक लागेको हुनसक्ने प्रहरीको दाबी छ। तर नाक र मुखबाट रगत कसरी आयो ? यो विषयमा भने प्रहरीले कुनै जवाफ दिएन सकेको छैन। पोष्टमार्टम भए पनि रिपोर्ट अझै आइसकेको छैन। मृतकका आफन्तले हत्या भएको भन्दै शुक्रबार प्रहरी कार्यालयअघि प्रदर्शनसमेत गरेका थिए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्