Logo

स्थानीय तहमा प्रमुख उपप्रमुख विवाद



अर्घाखाँची, असोज ६ । जिल्लाको भूमिकास्थान नगरपालिकामा प्रमुख र उपप्रमुखबीच बोलचाल छैन। एकले अर्कोको अनुहारसमेत हेर्दैन। अधिकांश स्थानीय तहमा प्रमुख पुरुष र उपप्रमुख छन्।

प्रमुखले उपप्रमुखलाई अधिकारविहीन बनाउँदा विवाद चर्किएका छन्। तर, भूमिकास्थानमा भने प्रमुख र उपप्रमुखको स्वार्थ बाझिँदा विवाद चुलिएको हो। चुनावी तालमेलबाट तत्कालीन नेकपा माओवादीबाट प्रमुखमा रमेश थापा र नेपाली कांग्रेसबाट उपप्रमुखमा खडानन्द बेल्बासे निर्वाचित भएका हुन्।

अहिले प्रमुख र उपप्रमुखले पत्रकार सम्मेलन गरी एकले अर्कोलाई किर्ते गरेको आरोपसमेत लगाए। भदौ १९ गते उपप्रमुख बेल्बासेको नेतृत्वमा कार्यपालिकाका बहुसंख्यक सदस्यले पत्रकार सम्मेलन गरी नगर प्रमुख थापाले अस्पतालको स्तर वृद्धिको निर्णयमा किर्ते गरेको तथा एकलौटी काम गरेको आरोप लगाएका छन्। भदौ २२ गते त्यसको खण्डन गर्न नगरप्रमुख थापाले अर्को पत्रकार सम्मेलन गरे।

नगरपालिकाभित्र प्रमुख र उपप्रमुखले १५ शैयाको अस्पताल आफ्नो क्षेत्रमा राख्न खोज्दा खास विवाद चर्किएको कार्यपालिका सदस्य बताउँछन। उपप्रमुख असुरकोटमा र नगरप्रमुख नुवाकोटमा अस्पताल बनाउने पक्षमा छन्। नेकपा समर्थित प्रमुख थापाका पक्षमा र नेपाली कांग्रेस अनि राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधि उपप्रमुख बेल्बासेको कित्तामा उभिएका छन्।

२०७६ असोजमा बसेको कार्यपालिका बैठकले १५ शैयाको अस्पताल स्थापना गर्ने र पुस २४ गतेको बैठकले स्थान छनोट गरी प्रतिवेदन पेस गर्ने निर्णय गरेको थियो। संघीय स्वास्थ्य मन्त्रालयले फागुनमा असुरकोटस्थित १५ शैयाको अस्पताललाई स्तर वृद्धि गर्ने जानकारीसहितको पत्र नगरपालिकालाई पठाएको थियो।

प्रमुख थापाले भने नगरबासीलाई पायक पर्ने स्थानमा अस्पताल बनाउने कार्यपालिकाले निर्णय गरेको भन्दै असुरकोट नभई नुवाकोटमै अस्पतालको स्तर वृद्धि गर्नेगरी संघीय मन्त्रालयमा पत्राचार गरेका थिए। यही घटनापछि प्रमुख र उपप्रमुखबीचको विवाद बाहिर सार्वजनिक भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्