Logo

कोरोना कहरमा अर्थमन्त्रीको योग्यता



काठमाडौं, असोज ६ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक मन्त्री हेरफेरमा व्यस्त रहेका बेला सबैभन्दा चासोको विषय नयाँ अर्थमन्त्री बनेको छ। कोभिड १९ महामारीबीच युवराज खतिवडाको बहिर्गमनपछि अहिले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी ओली आफैंले लिएका छन्।

कोभिडले समस्यामा परेर सरकारी सहयोगको अपेक्षा गरिरहेका आम जनता र उद्योगी व्यवसायीले नयाँ अर्थमन्त्रीलाई विशेष चासोका रुपमा हेरेका हुन्।केही दिनभित्र मुलुकले अर्थमन्त्रीसँगै अरु पनि नयाँ मन्त्री पाउने संभावना छ।

कोभिडको समस्यामा संसारभरका सबै अर्थमन्त्रीले सर्वसाधारण र उद्योगी व्यवसायीलाई सहयोग गर्न विशेष राहतका प्याकेज ल्याएका थिए। कतिपय मुलुकले नगद नै सहयोग गरेका थिए। तत्कालीन अर्थमन्त्री खतिवडाले भने उद्योगी व्यवसायीलाई कर्जाको साँवा र ब्याज तिर्ने समय थप्नेबाहेक उल्लेखनीय कार्यक्रम ल्याएनन्।

कोभिड महामारीको अन्त्य कहिले हुन्छ कसैलाई थाहा नभएका कारण सबैमा निराशा छ। नेपालमा दिनप्रतिदिन संक्रमित संख्या बढिरहेको छ भने मृत्युदर पनि वृद्धि भइरहेको छ। यस्तोमा आगामी दिनमा अर्थतन्त्रको गति कता जान्छ भन्ने कुतुहल सबैमा छ। अर्थतन्त्रको गतिमा नै आफ्नो पेसा, व्यवसाय र दैनिकी निर्भर हुने, अर्थतन्त्रलाई सफल र असफल बनाउन अर्थमन्त्री जोडिने भएकाले सर्वसाधारणले चासोका साथ हेरेका हुन्।

कोभिडले मुलुकको समग्र अर्थतन्त्रमा समस्या आएका बेला अर्थ मन्त्रालयलाई दुई तरिकाले चलाउन खोजेको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई छाया मन्त्री बनाएर अर्थ मन्त्रालय चलाउने योजनामा छन्। अर्कोतिर अनुभव र ज्ञान दुवै नभएका केही गैरअर्थशास्त्री नेताको रहर पनि अर्थमन्त्री बन्ने देखिएको छ। यही कारण सबैमा आगामी अर्थमन्त्रीलाई लिएर कुतुहलसँगै डर पनि रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्