Logo

मन्त्रीहरुको सूची बन्दै



काठमाडौं, ६ असोज । नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा मन्त्री हेरफेरमा केन्द्रीत भई छलफल भएको छ । स्रोतका अनुसार प्रचण्डसँग ओलीले नयाँ मन्त्रीहरुको नाम मागेका छन् ।

अहिलेका आधाजसो मन्त्री हट्ने लगभग निश्चित देखिएको छ । हेरफेरको क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल नै जोखिममा देखिएका छन् । प्रधानमन्त्री ओलीले उनलाई कोरोना व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिएपनि व्यवस्थापनमा असफल भएको आरोप लागेको छ । साथै, सेनालाई समेत भ्रष्टाचारमा तानेकोमा उनी विवादमा परेकाले उनलाई हटाउनुपर्ने भन्दै नेकपाकै एक समूह सक्रिय भएको छ ।

जोखिममा रहेका अर्का मन्त्री रामबहादुर थापा बादल हुन् । पद जोगाउन उनी ६ महिनाअघि चर्किएको पार्टी विवादमा ओलीको कित्तामा उभिए । तर, यसपटक उनलाई गाह्रो हुने देखिएको छ । ओलीको ‘यसम्यान’ बनेका बादल पछिल्लो समय विवादको केन्द्रमा छन् । गृह प्रशासन समेत अस्तव्यस्त बन्दै गएको छ । जसरी हुन्छ उनी पद जोगाउने रणनीतिमा छन् । उनी व्यक्तिगत स्वार्थमा लाग्दा गृह प्रशासनमा राजनीतिक हस्तक्षेप बढेको छ ।

साढे दुई वर्ष मन्त्री खाइसकेकाले भूमिसुधार मन्त्री पद्मा अर्याल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत समेत ‘रेड जोन’मा छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको छवी राम्रो भएकाले उनको मन्त्रीबाट नहट्ने तर मन्त्रालय हेरफेर हुनसक्ने सम्भावना छ । उर्जामन्त्री वर्षमान पुनले प्रचण्डको विश्वास कायमै राखेकाले उनको निरन्तरताको सम्भावना देखिएको छ ।

नयाँ मन्त्रीहरुमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सम्भावना प्रबल देखिएको छ । उनीहरुलाई अर्थ र गृहमा सेटल गराउन लागिएको छ । तर, वामदेवले आफुलाई नटेर्ने भएकाले सकेसम्म उनलाई रोक्ने प्रयासमा प्रधानमन्त्री ओली छन् । गत वर्ष मात्र नियुक्त भएका मन्त्रीहरुमध्ये केही हट्ने सम्भावना रहेको स्रोत बताउँछ ।

मन्त्री बन्नेमा सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, विरोध खतिवडा, कृष्णभक्त पोखरेल, बिशाल भट्टराई, पूर्णाकुमारी सुवेदी लगायत छन् । यसपटक मन्त्रिमण्डल हेरफेर हुँदा केही नयाँ अनुहार पर्ने निश्चित छ । ओलीले नेता माधव कुमार नेपालसँग पनि छलफल गरेर केही दिनमै मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन् । हाल अर्थ, सञ्चार र सहरी विकास मन्त्रालय रिक्त छन् ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्