Logo

मुख्यसचिवको दौडमा को को



काठमाडौं, ६ असोज । नयाँ मुख्यसचिव नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीले ७ कात्तिकदेखि अवकाश पाउने भएपनि उनलाई राजिनामा गराएर असोजमै मुख्यसचिव नियुक्तिको तयारी बालुवाटारमा भइरहेको छ ।

प्रधानमन्त्री ओलीसँग निकट सचिवहरुले असोजमै अवकाश पाउने भएपछि मुख्यसचिवलाई राजिनामा गराउने रणनीति बनेको हो । मुख्यसचिवको दौडमा एक दर्जन सचिव प्रतिस्धर्पामा भएपछि दुई सचिवबीच टक्कर रहेको उच्च स्रोत बताउँछ । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीबीच तिव्र प्रतिस्पर्धा छ । एकै दिन सचिवमा बढुवा भएका उनीहरु सचिवको ५ वर्षे पदावधीका कारण २२ असोजमा अवकाश पाउँदैछन् । जसकारण त्यसअघि नै नयाँ मुख्यसचिवको नियुक्ति हुने सम्भावना छ । दुई सातापछि नयाँ मुख्यसचिव नियुक्त हुनेछन् ।

मुख्यसचिव लोकदर्शन रेग्मीले भने अमेरिकाको राजदूत पद मागेका छन् । तर, उनलाई बेलायत पठाउने तयारी रहेको बालुवाटार स्रोत बताउँछ् ।

नियमित प्रक्रियाअनुसार सचिव बढुवा भए बाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरे प्रमुख दाबेदार हुन् । तर, धेरै चाकडी गर्न नसक्ने र प्रधानमन्त्री र उनको टिमसँग घनिष्ठता नहुँदा अहिले मुख्यसचिव बढुवामा अनाबश्यक चलखेल भएको हो । आफुले जे भन्यो त्यही मान्ने सचिवलाई प्रधानमन्त्री ओली मुख्यसचिव बनाउने तयारीमा छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको रोजाइमा बैरागी छन् । तर, अधिकारीलाई बनाउनुपर्ने दबाब पनि चर्को छ ।

घिमिरेभन्दा जुनियर रहेका सचिवहरु शिशिर ढुंगाना, मधुसुदन अधिकारी, विश्वनाथ ओली, यामकुमार खतिवडा लगायत पनि लबिङमै रहेको स्रोत बताउँछ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्