Logo

पदकले प्रहरीमा खैलाबैला



काठमाडौं, ६ असोज । गत वर्षझै यो वर्ष पनि विभूषणको व्यापक चर्चा भयो । संविधान दिवसको अवसरमा सत्ताका निकट र छनोट समितिका आसेपासेलाई मात्र पदक वितरण गरिएकाले विभूषण विवादित बन्यो ।

निकायमा विभूषणको अन्यत्र भन्दा ठूलो महत्व छ । बढुवामा नम्बर जोडिने भएकाले पनि विभूषणको सूचिमा पर्न प्रहरी अधिकारीहरुबीच मारामार हुन्छ ।

यो वर्षपनि ठूलो संख्यामा प्रहरी अधिकारीहरुले विभूषण पाएका छन् । तर, देशलाई योगदान दिने भन्दा सत्तामा रहेकालाई योगदान दिनेहरुले विभूषण पाएको चर्चा प्रहरीमा छ ।

सामान्यतया अपराध अनुसन्धानमा दख्खल प्रहरीलाई विभूषण दिने गरिन्छ । तर, केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी), मानव बेचबिखन अनुसन्धान ब्यूरो, लागूऔषध नियन्त्रण ब्यूरो, महानगरीय अपराध महाशाखाका कोही पनि प्रहरीले विभूषण पाएका छैनन् । सिआईबीका प्रहरीले गत वर्ष पनि विभूषण पाएका थिएनन् । लगातार दुई वर्ष सिआईबीका प्रहरीले विभूषण नपाएपछि कसैले सिआईबी निकम्मा भएको त होइन भन्ने प्रश्न उठाएका छन् । ब्यूरोका एक प्रहरी भन्छन्, ‘यति धेरै प्रहरीले विभूषण पाउँदा ब्यूरोका एक जना पनि नपर्नु अनौठो छ ।’

यो वर्ष नेपाल प्रहरीका एक जना पनि एआईजी तथा डिआईजीले विभूषण पाएनन् । प्राविधिकतर्फका सुनिल श्रेष्ठले जनसेवाश्री तृतीय पाएका छन् । एसएसपीहरुमा नवीन्द्र अर्याल, किरण बज्राचार्य, दीपक थापाले जनसेवाश्री तृतीय मानपदवी पाएका छन् ।

प्रबल जनसेवाश्री(चर्तुथ) पाउने प्रहरीहरुमा एसपी तारादेवी थापा, सुशीलसिंह राठौर, गणेश चन्द, जनकराज पाण्डे, अविनारायण काफ्ले, गंगा पन्त, ओम अधिकारी, दिनेश मैनाली र बीर बहादुर बुढा मगर छन् । उनीहरुमध्ये धेरै जसोले पावरका आधारमा विभूषण पाएको स्रोत बताउँछ । कोरोना महामारीको बेला दिनरात जिल्लाको नेतृत्वको गर्ने कतिपय एसपीले भने पाएका छैनन् ।

डिएसपीतर्फ दानबहादुर थापा, पवन कुमार भट्टराई, महेन्द्र श्रेष्ठ, रुपेश खड्का, दीपक गिरी, कृष्ण कुमार कार्की, पदम बिष्ट, डा सेवन श्रेष्ठ, डा किरण केसी, भीम कुमारी पाण्डेले पनि यो विभूषण पाएका छन् । इन्सपेक्टरमध्येबाट चेतना पोखरेलले मात्र यो विभूषण पाएकी छिन् । डिएसपी र इन्सपेक्टरमा पनि उचित मुल्याङकन हुन सकेको छैन ।

नेपाल प्रतापभूषण पाउने प्रहरीको संख्या ठूलो छ । डिएसपीहरु सुमन तिमल्सिना, कवित कटवाल, प्रतितसिंह राठौर, दधिराम न्यौपाने, निर्मल बुढाथोकी, डा.समृद्धि कार्की, डा विवेकराज भण्डारी, डा. आशा श्रेष्ठ, गुजुसिद्धी बज्राचार्य र श्याम खत्री छन् । इन्सपेक्टरहरु बरुण बहादुर सिंह, विजय श्रेष्ठ, कमला नराल, जितेन्द्र श्रेष्ठ, राजेश जरेजु, बल्देव मण्डल, डा विदुर कुमार आचार्यले नेपाल प्रताप भूषण पाएका छन् । महामारीको समयमा उत्कृष्ट काम गरेका कतिपय प्रहरी इन्चार्जहरु विभूषणमा छुटेका छन् । जसले प्रहरीमा निराशा देखिएको छ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्