Logo

चीनले हुम्लामा नौवटा घर बनाएको छ, सिडिओ साहेब वार्ताको लागि चीनमै हुनुहुन्छ : सहायक सिडिओ हमाल



हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले चीनले नेपाली भू–भागमा नौवटा घरहरू बनाएको र त्यहाँबाट उनीहरुलाई फिर्ता गराउन पहल भैरहेको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहायक सिडिओ हमालले यस्तो बताएका हुन् । उनकाअनुसार सिडिओ अहिले चीनमा वार्ताको लागि गएका छन् । उनले भने,‘अतिक्रमण हो कि के हो ? यकिन छैन । जनताको भनाईँ त यो उनीहरूले अतिक्रमण नै गरेको हो भन्ने छ ।’ प्रस्तुत छ सहायक सिडिओ हमालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

हुम्लाको अवस्था के छ ? त्यहाँ चीनले नौ वटा घर बनायो, नेपाली भू–भागमा भनेर बाहिर आएको छ, समाचारमा । वास्तविकता के हो ?

वास्तविकता के हो भने हामी यो भाद्र महिनाको १४ गतेदेखि नलगाड गा.पामा राहत के कस्तो छ, जनताले खाद्यान्न पाए कि पाएनन् भन्ने कुराले हामी त्यसतर्फ लागेका थियौँ । त्यहाँका गाउँपालिका अध्यक्षलगायत म पनि त्यसमा संलग्न थियौं । हामीहरू १६ गतेको दिनमा उक्त क्षेत्रमा पुग्दा त्यहाँबाट कैलाशको पनि दर्शन गर्ने भनेर अवलोकन गरियो । त्यहाँ पुग्दा एउटा गहिरोजस्तो ठाउँमा घरहरू पनि देखिए । वि.सं २०६२ सालमा बनेका घरहरू अहिले क्वारेन्टाइनको लागि प्रयोग गरिएको हो । त्यसलाई अन्यथा नठान्नुहोस् भनेर त्यहाँको अध्यक्ष लगायतले भन्नुभयो ।

होइन जनताको भनाईँ के छ ? चीनले कतिओटा घर बनाएको छ, अहिलेसम्म त्यहाँ ? 

ठ्याक्क हेर्दाखेरि टाढाबाट हेर्दा नौओटा घरहरू छन् । त्यो टाढा भएको हुनाले हामी त्यहाँ जान सकेनौँ । टाढाबाट हेर्दाखेरि एउटा गाउँजस्तै छ । पछि २०६६ मा आठ ओटा घर बनाएको रहेछ । फेरि पछि हाम्रो सुरक्षा पनि त्यहाँ पुग्न नसकेको हुनाले पुनः आठ ओटा घरहरू थपिए भनेर त्यहाँका बासिन्दाहरूले भन्नुभयो ।

तपाईहरू के हेरेर बसिरहनुभएको छ त ? सहायक सि.डि.यो साहेब । तपाईहरूको दायित्व होइन र ? नेपालको भूभागमा चीनले घर बनाउँदाखेरि सरकार बेखबर ?

हाम्रो यसमा दायित्व त हो तर त्यस बेलामा पुग्ने अवस्था थिएन । बाटो पनि भौगोलिक विकटताले गर्दाखेरि जान सकेनौँ । म त यहाँ आएको पनि १० महिना पुग्यो ।

त्यसो भए तपाई त्यहाँ गएको १० महिना भयो ? सबै काम तपाईले हेर्नुभएको छ नि त । जिम्मेवारी त तपाईले पाउनुभएको छ नि ?

जिम्मेवारी सबै पाएको छु । मैले प्रतिवेदन पनि दिएको छु, गृहमन्त्रालयमा ।

गृहमन्त्रालयमा तपाईँले प्रतिवेदन पनि दिईसक्नुभयो त ?

प्रतिवेदन मैले पठाएको छु । सि.डि.ओ. साहेबमार्फत पठाएको छु । अहिले चारवटै सुरक्षा निकाय सि.डि.ओ साहेबसँग संलग्न छन् । उहाँले अब कस्तो प्रतिवेदन ल्याउनुहुन्छ, वार्ता हुने भन्ने पनि सुन्नमा आयो ।

अहिलेसम्म चिनियाँ पक्षसँग वार्ता भएको छैन ?

वार्ता भनेर भन्नुभएको छ । यहाँबाट फोन पनि लाग्दैन ।

अब ती घरहरू तपाईँहरूले भत्काउनुपर्दैन, चीनले बनाएको घर ?

त्यो कस्तो किसिमको हो, अब घर भत्काउने कुरा माथिल्लो निकायबाट होला, सायद ।

त्यसो भए चीनले नौओटा घर बनाएको छ, तपाईँले पाएको सूचना अनुसार । यो कुन ठाउँमा बनाएको छ, हुम्लाको ?

यो हुम्लाको लि लाप्चा भन्ने ठाउँमा बनाएको रहेछ ।

अब त्यहाँ आवतजावत गर्नको लागि कठिन छ, नेपालीहरूको लागि ? तपाईहरूलाई जानको लागि समस्या छ ?

कठिन छ । यहाँबाट सल्ली हुँदै जानुपर्ने रहेछ । बाटो अलिअलि खोलेको रहेछ, त्यहाँको गाउँपालिकाले । अहिले त जान सकिन्छ तर हिउँ परेपछि जानै सकिन्न, कठिन अवस्था छ ।

ती घरहरू भत्काउनको लागि तपाईँलाई काठमाडौँबाट कुनै निर्देशन दिइएको छैन ?

आएको छैन । सि.डि.ओ. साहेबमार्फत हुन्छ कि अब के हुन्छ, केही जानकारी प्राप्त छैन ।

चीनले त्यो घर किन बनाएको रहेछ ? के प्रयोजनको लागि बनाएको रहेछ ? तपाईँ अस्ति त त्यहाँ जानुभएको थियो नि होइन र ?

मैले थाहा पाउँदा त्यहाँ एउटा घर २०६६ सालमा बनाएको रहेछ ।

२०६६ सालमा एउटा घर बनाएको रहेछ, त्यतिखेर नेपाल सरकारले बोल्दै बोलेन ?

जनता बोलेछन् । त्यतिखेर जनता बोलेर तत्कालीन यहाँको सि.डि.ओ. साहेबले पनि वार्ता गरेर हामीले यो घर छोड्यौँ, यो क्वारेन्टाइनको लागि हो । पाल्तु जनावरसँग रोग हुने भएकोले हामीले त्यो घर बनाएको हो भनेर हामीले कुनै ओगटेको छैनौँ । हामी फिर्ता गर्छौँ भनेर बीचमा फिर्ता गरेको देखिने कुराको जानकारी मैले प्राप्त गरेँ । पछि पाँचदेखि सात वर्षभित्र आठओटा घरहरू थपिएको उहाँको भनाईँबाट मैले थाहा पाएँ ।
घर बनाईरहेका छन् । नेपाल सरकारले त्यतातिर ध्यान दिएको छैन । कुटनीतिक पहल पनि भएको छैन । त्यसोभए हुम्लामा चीनले नेपाली

भू-भागलाई अतिक्रमण गरिरहेको छ ?

अतिक्रमण हो कि के हो ? यकिन छैन ।

जनताले के भनिरहेका छन् ?

जनताको भनाईँ त यो उनीहरूले अतिक्रमण नै गरेको हो भन्ने छ ।

जनताको भनाईँ छ, चीनले नेपालको भू–भाग अतिक्रमण गरेको छ, नौओटा घर बनाएको छ । अब त्यसमा नेपाल सरकारले पहल गर्नुपर्छ । चीनसँग वार्ता गर्नुपर्छ ? अहिलेसम्म वार्ता भएको छैन ?

वार्ता भएको छैन । वार्ताको लागि सि.डि.ओ. साहेब जानुभएको छ ।

सि.डि.ओ. साहेबहरू वार्ताको लागि जानुभएको छ । अहिलेसम्म सि.डि.ओ. साहेबले वार्ताबारे केही पनि तपाईँलाई भन्नुभएको छैन ?

सि.डि.ओ. साहेब फर्किनुभएको छैन । फोन सम्पर्क पनि हुँदैन, त्यहाँबाट । फोन स्वीच अफ नै हुन्छ । त्यहाँको सिममात्र प्रयोग हुने भएको हुनाले उहाँले सम्पर्क गर्नुभएको छैन ।

कति भयो सि.डि.ओ. साहेब त्यहाँ (चीन) वार्ता गर्न जानुभएको ?

सि.डि.ओ. साहेब ३ गते जानुभएको हो । आज ६ गते भयो, ८ गतेसम्म फर्किनुहुन्छ कि ?

अब सि.डि.ओ. साहब नआएसम्म त्यहाँको अवस्थाबारे थाहा हुँदैन ?

हजुर, थाहा हुँदैन ।



प्रतिक्रिया दिनुहोस्