Logo

कोरोना महामारीबाट जोगिन हामी सबै अनुशासित हुनुपर्छ : डा. राजभण्डारी



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले टेकु अस्पतालमा आफूहरुले क्षमताभन्दा बढिको पिसिआर परीक्षण गरिरहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग् कुरा गर्दै उनले भनेका छन्,‘हाम्रो अस्पतालको कुरा गर्ने हो भने क्षमता भनेको तीनसय मात्रै हो । तर अहिले हामीले क्षमता वृद्धि गरेर चारसय हरेक दिन टेस्ट गरिरहेका छौँ । टेस्टको नाममा ‘स्वाब–कलेक्सन’ गरेर मात्रै हुँदैन । सबै परीक्षण गर्नुपर्ने भएकाले लगभग हामीले चारसय स्वाब मात्र कलेक्सन गर्छौँ । त्यसो हुँदा भोलि या पछि आउनुस् भनेर भनिराख्नुपर्ने अवस्था र बाध्यता छ ।’ प्रस्तुत छ डा. राजभण्डारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना कहर र पि.सि.आर टेस्टको कुरा गर्दाखेरि टेकु अस्पतालको अवस्था के छ ?

टेकु अस्पतालको कुरा गर्दा हिजो रातिदेखि पि.सि.आर टेस्टको लागि लाईन बसिरहेका छन् । हिजो राति तीन बजेदेखि साधारण व्यक्तिहरू टेस्टको लागि आउनुभएको छ । हजारौँ व्यक्तिहरू लाईनबद्ध हुनुभएको छ । यो अत्यन्तै कठिन अवस्थामा यी सबैको टेस्ट गर्न सम्भव हुँदैन् ।

किन सम्भव हुँदैन ? जनता लाईनमा बसिसकेपछि तपाईले पि.सि.आर टेस्ट गर्नुपर्दैन र डा. राजभण्डारी ?

तपाईँले राम्रो जानकारी दिनुभयो । यो सबै अस्पतालले यतिनै जिम्मेवारी बहन गर्नुपर्ने हो । हाम्रो अस्पतालको कुरा गर्ने हो भने क्षमता भनेको तीनसय मात्रै हो । तर अहिले हामीले क्षमता वृद्धि गरेर चारसय हरेक दिन टेस्ट गरिरहेका छौँ । टेस्टको नाममा ‘स्वाब–कलेक्सन’ गरेर मात्रै हुँदैन । सबै परीक्षण गर्नुपर्ने भएकाले लगभग हामीले चारसय स्वाबमात्र कलेक्सन गर्छौँ । त्यसो हुँदा भोलि या पछि आउनुस् भनेर भनिराख्नुपर्ने अवस्था र बाध्यता छ ।

होइन तपार्इँहरूको बाध्यता छ, तर जनताको आवश्यकता होइन र पि.सि.आर टेस्ट ?

यो आवश्यकतालाई पूरा गर्नको लागि तपार्इँ÷हामी सबै मिलेर एउटा आवाज बनाउनुपर्छ । शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै किन यति लाईन हुन्छन् भन्ने कुरा थाहा पाउनुपर्छ हामीले । अन्य अस्पताल, काठमाडौँ उपत्यकाका अस्पतालमा पि.सि.आर टेस्ट गर्नका लागि सरकारले भनिरहेको अवस्थामा उहाँहरूले राम्रोसँग त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ । अर्को कुरा यो अस्पतालमा धेरै लामो समयदेखि उपचार पनि निःशुल्क रूपमा भईरहेको छ । पछिल्लो जुन १४ अस्पतालहरूले सेवा दिए, ती अस्पतालमा गए धेरै पैसा लाग्छ भन्ने भएकोले हाम्रोमा धेरै भीड भएको हो । हामीले के जनाउनुपर्छ भने जसरी शुक्रराज अस्पतालले जुन शुल्क लिईरहेको छ, तिनीहरूले पनि निःशुल्क रूपमा उपचार गर्नुपर्छ । त्यस्तै प्रकारको एउटा निर्देशिका जारी गर्ने हो भने त्यो सम्भव छ ।

सम्भव होला तर समस्याको कुरा गर्दाखेरि तपाईँले भन्नुभयो पि.सि.आर टेस्ट गर्नको लागि कठिन छ । अब निजी अस्पतालले पनि धेरै शुल्क लिएका छन् । हिजो राति मलाई एकजनाले फोन गरेर भन्दै हुनुहुन्थ्यो, अब बाहिर २००० भनेर भनियो, हामीसँग ५००० मागेको छ । अब के गर्ने ?

यसको लागि त सबैभन्दा ईमान्दारिता व्यक्ति तथा समूहहरूबाट हुन जरुरी छ । यस्तो दुःख परेको अवस्थामा सबै संस्थाहरूले यो कमाउने बेला होइन, यस्तो बेलामा जनतालाई सेवा दिएर सहयोग गर्ने बेला हो भन्ने कुरा हामीले महशुस गर्नुपर्ने हो । यस्तो बेलामा त उहाँहरूले बढी मात्रामा टेस्ट गर्ने र त्यो टेस्टको हिसाबले कम्पन्सेसन दिने त्यो कुरा त छँदैछ । त्यसरी गर्नुपर्ने हो । त्यो भएको छैन । यस्तो बेलामा ईमान्दारिता, धैर्यता हुनुपर्छ । सबै कुरा भए पो हामीले यो कोभिड–१९ सँग लड्न सक्छौँ ।

तपाईँलाई थाहा छ, सोमबारमात्रै ठूलो संख्यामा संक्रमितको संख्या थपिएको छ, अब के गर्ने ? कोरोना संक्रमण त उच्च जोखिममा गईसक्यो नि ?

यो त पहिले नै हामीले भनिरहेका थियौँ–लाखौँलाख संक्रमित हुनसक्छन भनेर । यहाँको सबै अस्पतालमा आई.सी.यु बेड छैन । भर्ना गर्न एकदमै भनसुन गर्नुपर्ने हुनसक्छ भनेर । यो त हामीले पहिले नै अनुमान गरेको हो । त्यसैअनुसार हामीले व्यवस्थापन पनि गरेका हौँ । सार्वजनिक यातायात खुल्ला भईसकेपछि थुप्रै व्यक्तिहरू अहिले आईराख्नुभएको छ । हिजोपनि हजारौँ व्यक्तिहरू खास गरेर भारतका विहारलगायत विभिन्न ठाउँहरूबाट आउनुभएको छ । उहाँहरूलाई हामीले उच्च व्यवस्थापन गर्नुपर्छ । काठमाडौँ नाका छिर्ने ठाउँहरूमा उनीहरूले व्यवस्थापन गर्नुपर्ने हो । सम्बन्धित यातायात निर्माण व्यवसायीहरूले उहाँहरूको लागि व्यवस्थापन गर्नुपर्ने हो कि ? यस्ता कार्यक्रमहरू गर्नैपर्छ । भयावह स्थिति फेरि सिर्जना होलाजस्तो लाग्छ ।

अब बसमा चढ्नेहरूको भीडभाड छ । त्यहाँ कसरी व्यवस्थित गर्ने ? आन्तरिक उडान पनि सुचारू भैसकेको छ, त्यहाँ सामाजिक दूरी छैन । पि.सि.आर टेस्टको कुरा कहाँ पुग्यो ? महामारीबाट कसरी जोगाउने त देश र जनतालाई ?

अब यो जोगाउनको लागि सबैभन्दा जरुरी भनेको अनुशासन हो । हामी सबै अनुशासित हुनुपर्छ । हामीले भन्दै आएको तीनओटा फर्मुला, प्लेन, यातायात, उद्योग जता भए पनि, अनुशासनलाई हामीले कहिले पनि बिर्सिनुहुँदैन । यसमा हामीले ध्यान दिनुपर्छ ।

अब टेकु अस्पतालले जसरी काम गरिरहेको छ, त्यहाँ हजारौँ मान्छेहरू लाईनमा बस्दाखेरि पनि यदि तपाईँले पि.सि.आर टेस्ट गराउन सक्नुभएन भने त्यो भीडभाडको औचित्य के रह्यो ? तपाईँको काम भनेको त्यहाँ लाईन बसेका सबै जनताको पि.सि.आर टेस्ट गराउने होईन र ?

मेरो काम भनेको शुक्रराज अस्पतालमा आएका विरामीहरूको व्यवस्थापन गर्ने हो । तर पनि जुन एउटा दायरा छ, त्यो दायरा बढ्नेगरी मैले हिजोदेखि निर्देशन दिएको थिएँ, अलिकति संख्या बढाउनैपर्ने हुन्छ, यस्तो अवस्थामा भनेर हामीले भनिरहेका छौँ । त्यसैअनुसार व्यवस्थापन गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्