Logo

खाली भयो धौलागिरि अस्पताल



बलेवा, ६ असोज: गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का बिरामी छैनन् ।

चैतको १५ गते बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीलाई आइसोलेसनमा राखेर अस्पतालले कोभिड–१९ को पहिलो उपचार चालेको थियो । उनी वैशाख १२ गते निको भएर घर फर्किएपछि जेठसम्म अस्पतालमा बिरामी आएनन् । जेठको पहिलो साताबाट निरन्तर कोभिड–१९ का बिरामीलाई आसोलेसनमा राखेर उपचार गर्दै आएको अस्पताल मङ्गलबारदेखि खाली भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको यो अस्पतालमा हालसम्म १७४ जनाले उपचार गराएका छन् ।

गौतमका अनुसार अस्पतालले सातमहिने बच्चादेखि ६५ वर्षीय वृद्ध सम्मलाई आइसोलेसनमा राखेर उपचार गरेको थियो । अस्पतालमा उपचार गराउनेमा पाँच स्वास्थ्यकर्मी, तीन जनप्रतिनिधि र तीनजना सुत्केरीसमेत छन् । २५ महिला सङ्क्रमितको उपचार भएको अस्पतालमा १४९ जना पुरुषले कोभिड–१९ को उपचार गराए । “अहिले स्थानीय तहहरुमा पनि अस्थायी कोभिड–१९ अस्पताल बनेका छन्, त्यसैले बिरामीहरु आएका छैनन्, पहिले रहेका सबै निको भइसके ”, गौतमले भने, “अब नियमित सेवा सञ्चालनमा सहज हुन्छ ।”-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्