Logo

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल



काठमाडौं, ६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ)  ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार रुद्र कार्कीसँग कुरा गर्दै अध्यक्ष पोखरेलले भने,‘यो एकतर्फी रुपमा चुनाव स्थगित् गरिएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ । अन्तिममा आएर चुनाव किन रोकियो ?’ सरकारले कोभिड–१९ को कारण देखाएपनि आफुहरुसँग किन सरसल्लाह गरिएन ? भन्दै उनले दुःखेसो पोखे । उनले सरकारको यो निर्णयले गणतन्त्र र लोकतन्त्रमाथि नै खतरा भएको पनि टिप्पणी गरे ।

निर्वाचन स्थगित् गरिनेजस्तो निर्णय गर्दा प्रमुख निर्वाचन अधिकृत तोकिएको कार्यालयलाई समेत कुनै जानकारी र समन्वय नगरिएको अध्यक्ष पोखरेलको भनाई छ । ‘हामी त चुनाव प्रचारप्रसारमा होमिईसकेका थियौं, तर अन्तिममा आएर हामीसँग पनि सल्लाह नगरी यसरी एकतर्फी रुपमा चुनाव स्थगित् गर्न मिल्छ ? यो त चुनाव हार्ने डरले सत्तारुढ दलले यस्तो निर्णय गरेको छर्लङ हुन्छ।’–उनले भने ।

तर, सरकारले भने कोरोना भाइरस (कोभिड( १९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै उक्त निर्णय लिइएको बताइएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने र अहिलेको समितिलाई वैशाखसम्म निरन्तरता दिने निर्णय थियो ।



प्रतिक्रिया दिनुहोस्