Logo

विसंगतिहरू अन्त्यका लागि चेतना तथा जागरण अभिवृद्धि



राष्ट्रपति विद्यादेवी भण्डारी: प्रेस काउन्सिल नेपालको ५१औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस समारोहमा यहाँ उपस्थित सबैलाई स्वागत गर्दै काउन्सिल परिवारलाई हार्दिक शुभकामना दिन चाहन्छु । यस अवसरमा प्रेस काउन्सिल स्थापना गर्न र संस्थालाई आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सबैलाई धन्यवाद दिँदै आज पुरस्कृत हुनुभएका वरिष्ठ पत्रकार श्री हिरण्यलाल श्रेष्ठ, श्री शम्भु श्रेष्ठ र श्री अमित ढकालसहित सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

‘राज्यको चौथो अङ्ग’को रूपमा लिइने पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम हो । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व हुन् ।

आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु । अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी तथ्यहीन र झूठा समाचार एवम् भ्रामक विचारहरू कतिपय सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोमा प्रेस काउन्सिलको ध्यान गएकै होला भन्ने लागेको छ ।

सूचना र संचारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । नेपालको सन्दर्भमा यस चुनौतिको सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ । यसका लागि आफ्नो क्षेत्रमा आधुनिक सूचना तथा सञ्चार प्रविधिमैत्री पूर्वाधारको विकास गर्न पनि आमसञ्चार जगत अग्रसर हुनु पर्दछ ।

पत्रकारितालाई जिम्मेवार बनाउँदै जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिल नेपालले सञ्चार क्षेत्रको अनुगमन र अनुसन्धानका साथै आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी कारवाहीका लागि गरेको प्रयास सराहनीय छ ।

यस वर्ष विश्वभरिका सञ्चारमाध्यम र सञ्चारकर्मी समेत कोभिड–१९ को महामारीबाट पीडित हुनुपरिरहेकोमा मलाई दुःख लागेको छ । म नेपालका पत्रकारहरूले सामना गर्नुपरेको चुनौतीका बारेमा जानकार नै छु । यस्तो जोखिमपूर्ण परिस्थितिमा पनि पत्रकारहरू समाचार सम्प्रेषण गर्न खटिनुभयो र अझै खटिइरहनु भएको छ । प्रतिकूल परिस्थितिमा समेत अबिचलित रूपमा पेशाप्रतिको दायित्व बहन गर्ने पत्रकारिता क्षेत्रको म उच्च मूल्याङ्कन गर्दछु । यस सन्दर्भमा पत्रकारहरू स्वयं पनि कोरोनाबाट संक्रमित हुनुभएको छ । म उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनु हुँदैन । आमसञ्चार जगतले जनताको सुख, शान्ति र समृद्धिको यात्रामा सधैँ टेवा पु¥याउनु पर्दछ ।

मुलुक समृद्धिको यात्रामा अग्रसर बनेको छ । यस परिवेशमा राष्ट्रको यस साझा संकल्पलाई साकार तुल्याउन भौतिक पूर्वाधार विकासलाई उत्प्रेरित गर्न आमसञ्चार जगतले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ । जलवायु परिवर्तनका कारण उत्पन्न भएका समस्या उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउन पत्रकारिता महत्वपूर्ण माध्यम बन्नु पर्दछ । यसैगरी खाद्य सुरक्षा, सरसफाई तथा स्वच्छ पिउने पानी, गुणस्तरीय शिक्षा र जनस्वास्थ्य प्रवद्र्धनका विषयमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराउनु पर्दछ । सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण गर्न विभिन्न प्रकारका कुप्रथा, विकृति एवं विसंगतिहरू अन्त्यका लागि चेतना तथा जागरण अभिवृद्धि गर्नु पर्दछ ।

अन्तमा, लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमी कमजोरीहरू क्रमशः हट्दै जानेछन् भन्ने आशा गरेको छु । सबै पत्रकारहरूले पत्रकार आचारसंहिता पालना गर्ने अपेक्षासहित आज पुरस्कृत र सम्मानित हुनु हुने सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद !

२०७७ साल असोज ६ गते सोमबार । (सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रेस काउन्सिल नेपालको ५१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह–२०७७ का अवसरमा गर्नुभएको सम्बोधन)

फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्