Logo

नेपाल-भारत महिला मैत्री समाजद्वारा नवलपरासीमा बाढी पीडितहरुका लागि टेन्ट तथा त्रिपाल वितरण



नवलपरासी (बर्दघाट पश्चिम), ६ असोज । भारत सरकारको सहयोग एवं नेपाल-भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा नवलपरासी (बर्दघाट पश्चिम) का सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका बाढी पिडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ । नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष एवं सांसद चन्दा चौधरीले १०५ टेन्ट तथा १६० त्रिपाल नेपाल गण्डक सिंचाई परियोजनाको कार्यालय परिसरमा गाउँपालिका अध्यक्षलाइ हस्तान्तरण गरेकी हुन् ।

जिल्ला विपद् व्यवस्थान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षता मा भएको एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष चौधरीले उक्त टेन्ट प्रतापपुर गाउँपालिकाकी कार्यकारी अध्यक्ष अन्जु चौधरी तथा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीलाइ हस्तान्तरण गरिन् । उक्त टेन्ट तथा त्रिपाल प्रतापपुरका वडा ३ र सरावल गाउँपालिकाका वडा ६ र ७ मा वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समिति ले जनाएको छ ।

सो कार्यक्रममा अध्यक्ष एवं सांसद चन्दा चौधरीले नेपालका ५ जिल्लामा बाढी पहिरोबाट पीडित परिवारहरुलाई भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाजले राहतस्वरुप टेन्ट त्रिपाल वितरण गरिएको कुरा बताईन् । उनले आफ्नो संस्थाले यस वर्ष तथा अघिल्ला वर्षमा बाढी पहिरोबाट सबैभन्दा धेरै विस्थापित भएका स्थानिय तहहरुलाइ अस्थायी बासस्थानको प्रबन्ध मिलाउन सहयोग गरेको र स्थानिय तहहरुले पनि आवश्यकता भएका विस्थापित जनतालाइ उक्त टेन्ट वितरण गर्ने विश्वास लिएको धारणा राखिन् ।

उक्त कार्यक्रममा सम्बन्धित स्थानिय तह का विपद् व्यवस्थापन समितिका प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्षहरु, जसपाका केन्द्रिय सदस्य तथा नेपाल गण्डक सिंचाई परियोजनाका अध्यक्ष हैदर अली ओमीन, नेकपा ५ न. क्षेत्रीय सदस्य युक्ति नारायण चौधरीलगायत स्थानीय तहमा रहेका राजनैतिक दलका नेताहरुको उपस्थिति रहेको सांसद चौधरीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्