Logo

शंकर ग्रुपको अर्को बदमासीः जगदम्बा हस्पिटालिटीद्वारा निर्माणाधीन हिल्टन होटलको बलमिचाइ



काठमाडौं, असोज ७ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ । सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै आइरहेको छ ।

जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी पनि शंकर गु्रपअन्तर्गतकै हो । यो डन्डी गुणस्तरहीन प्रमाणित भई कारबाहीमा परिसकेको छ ।

होटलले निर्माण मापदण्डलाई पूर्ण बेवास्ता गरे पनि सम्बन्धित निकायले कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । मापदण्डअनुसार शंकर ग्रुपको कम्पनीले सँधियारसँग अनिवार्य स्वीकृति लिनुपर्छ । साथै निर्माण सामग्रीको परीक्षण रिपोर्ट पनि बुझाउनुपर्छ ।
यसैगरी, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण र साइट प्रोटेक्सनको काम अनिवार्य रूपमा गर्नुपर्छ । तर, शक्तिको आडमा जगदम्बा हस्पिटालिटीले यी सबै मापदण्डको खिल्ली उडाउने काम गर्दै आएको छ ।

राजनीतिक शक्ति र पैसाको भरमा आफ्ना गल्ती कमजोरी ढाकछोप गरी बलमिचाइ गर्दै आएको जगदम्बा हस्पिटालिटीले होटल निर्माणका क्रममा सडकसमेत मिचेको पाइएको छ । होटल निर्माण गर्दा भवन निर्माणको मापदण्डसमेत लत्याएकाले त्यसले भविष्यमा गम्भीर क्षति निम्ताउन सक्ने देखिएको छ ।

शंकर ग्रुपले जगदम्बा हस्पिटालिटी र हिल्टन वल्र्डवाइडको लगानीमा काठमाडौंको नक्साल भगवतीबहाल मन्दिर नजिकै निर्माण गरिरहेको पाँचतारे हिल्टन होटलको जग हाल्ने बेला नक्सालका स्थानीयलाई निकै सास्ती दिएको थियो । स्थानीय अझै पनि सो होटेलबाट निकै असुरक्षित महसुस गरिरहेका छन् ।

पाँच रोपनी जग्गामा करिब ४ अर्ब रुपैयाँ लगानी गरेर होटल बनाइँदै छ । दुई तला बेसमेन्टसहित १५ तले यस होटलको जग हाल्ने बेला २०७३ सालको पुसमा नक्साल भगवतीबहाल मन्दिरचोकदेखि प्रहरी प्रधान कार्यालयतर्फ जाने सडक निकै गहिरो गरी भासिएको थियो । जसका कारण केही समय त्यस सडकको सवारी साधन सञ्चालनमा समेत अवरोध हुन पुगेको थियो । सो समय दुईतर्फी सडकको झन्डै आधाभन्दा बढी भाग भासिएर ठूलो खाडल परेको थियो ।

जग खन्नेबेला ठूला मेसिन प्रयोग गरी जमिनमुनि धेरै गहिरो खनेर ठूलो भूकम्पभन्दा बढी थर्काएका कारण होटल वरिपरिका छिमेकी आन्दोलनमै उत्रिएका थिए । त्यसबेला नक्सालका स्थानीय आफ्नो घर नै भत्किने सक्ने भन्दै आन्दोलित भएका थिए ।

केहीले जोखिममा परेको घर छोडेर अन्तै डेरा लिएर बस्नुपरेको थियो । त्यसबेला आन्दोलनमा उत्रिएका केही व्यक्तिको घर किनेर र होटल नजिकैका केही पसलेलाई शंकर ग्रुपले प्रतिव्यक्ति २५ हजार रुपैयाँ थमाएर सो आन्दोलन मत्थर पारेको थियो । दुई तलाभन्दा बढी ‘अन्डरग्राउन्ड’ जान नपाइने भवन निर्माण मापदण्ड छ ।

तर, होटलले खुलेयाम मापदण्ड उल्लंघन गर्दा समेत सरोकारवाला निकाय चुपचाप बसेको स्थानीयको भनाइ छ ।जगदम्बा हस्पिटालिटीले क्षतिको पूर्वआँकलन नगरीकनै होटलको भवन निर्माणकार्य सुरु गरेको पाइएको थियो । काठमाडौं महानगरपालिकाको क्षतिपूर्ति मूल्यांकन समितिले त्यस्तो बेहोराको प्रतिवेदन बुझाएपछि मात्र सो रहस्य बाहिर आएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्