Logo

७० प्रतिशतले घट्यो औषधिको उत्पादन



काठमाडौं, असोज ७ । बजारमा औषधिको मागमा कमी आएपछि औषधि उत्पादक कम्पनीहरूले उत्पादनमा व्यापक कटौती गरेका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गरेको बन्दाबन्दीयता दीर्घरोग र प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनबाहेक अन्य औषधिको माग शून्य भएपछि उत्पादन कटौती गर्नु परेको व्यवसायीहरू बताउँछन् ।

औषधिको मागमा कमी आएपछि अहिले उद्योगीहरूले ७० प्रतिशतसम्म उत्पादन घटाएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

‘बजारमा औषधिको माग नै नभएपछि उद्योगीहरूले लक्ष्यभन्दा एकदमै कम उत्पादन गरिरहेका छन्,’ उनले भने ।

कोरोना महामारी शुरू हुँदा भारत र चीनले कच्चा पदार्थको निर्यातमा कडाइ गर्नु र औषधिजन्य कच्चा पदार्थको मूल्य पनि बढाएका कारण नेपालका उद्योगहरूले उत्पादनमा केही कमी ल्याएको उनले बताए ।

चैतयता आपूर्ति शृंखला राम्रो भए पनि बजारमा औषधिको माग नै नहुँदा व्यवसायीहरू पुरानो लयमा फर्किन सकेका छैनन् ।

अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएकाले नागरिकमा मनोवैज्ञानिक त्रास फैलिएको क्षत्रीको बुझाइ छ । ‘कोरोनाको जोखिमका कारण अत्यावश्यक अवस्थामा मात्र बिरामीहरू अस्पताल पुग्ने गरेका छन् जसले गर्दा मागमा कमी आएको हो,’ उनले भने ।

बजारमा माग नै नभएपछि देशकै सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले करीब १ महीना औषधि उत्पादन नै बन्द ग¥यो । बजारमा माग नभएकाले केही समय उत्पादन बन्द गरी पुनः सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए । ‘सप्लाइलगायत सबै काम भइरहेका छन् । उत्पादन बजार मागअनुसार गरिरहेका छौं,’ उनले भने ।

नेपाल मेडिकल संघका अध्यक्ष सीताराम घिमिरे पछिल्लो समय अस्पताल पुग्नेहरूको चाप नै न्यून भएको बताउँछन् । उनका अनुसार ट्रमा, छाला, दुखाइलगायत छोटो समयमा देखिने रोगका औषधिको माग बजारमा एकदमै न्यून छ । क्यान्सर, क्षयरोग, मधुमेहजस्ता दीर्घरोगको माग सामान्य रहेकामा पछिल्लो समय मनोरोगसम्बन्धी औषधिको माग भने ह्वात्तै बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्