Logo

सर्वोच्चको निर्देशनः कैदीलाई जेलमा नराख, पैसा लिएर छोड!



काठमाडौं, असोज ७ । कारागारमा रहेका कैदी र बन्दीलाई रोगको संक्रमणबाट बचाउने जिम्मेवारी राज्यको हुने उल्लेख गर्दै सर्वोच्चले त्यसबाट जोगिन कानूनमा भएको व्यवस्थाबमोजिम रकम लिएर थुनामुक्त गर्नुपर्ने स्पष्ट गरेको छ ।न्यायाधीशहरु सपना प्रधान मल्ल र डा। मनोजकुमार शर्माको संयुक्त इजालसले कैदीहरुलाई कानूनमा भएको व्यवस्थाबमोजिम कैद वापत रकम लिएर थुना मुक्त गर्नुपर्ने स्पष्ट गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा दिनको ३ सय रुपियाँका दरले रकम तिरेर कैदी थुना मुक्त हुनसक्ने प्रावधान रहेको छ । सो दफामा पहिलो पटक अपराध गरेको, एक वर्षभन्दा कम कैद सजाय भएको व्यक्ति दिनको ३ सय रुपियाँ तिरेर कारागारबाहिर बस्नसक्ने ब्यवस्था छ ।

कीर्ते मुद्दामा कसूरदार ठहरी एक वर्ष कैद र ५० रुपियाँ जरिवाना भएका हाल कारागार कार्यालय, स्याङ्जामा रहेका विमल खनालले आफूलाई लागेको कैदको सट्टा दिनको ३ सय रुपियाँ तिरेर निस्कन स्याङ्जा जिल्ला अदालतमा निवेदन दिएका थिए । सो अदालतले माग बमोजिम गर्न अस्वीकार गरेको थियो । उच्च अदालत, पोखरा बाग्लुङ इजलासले पनि त्यसलाई सदर गरेको थियो ।

कानूनमा भएको सुविधा आफूले उपयोग गर्न नपाएको उल्लेख गर्दै खनालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकणको रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा कारागार कार्यालय, स्याङ्जामा पुरुष ३५ र महिला १५ गरी ५० जनाको मात्र क्षमता रहेकोमा हाल सो कारागारमा पुरुष १ सय ४० र महिला १४ गरी १ सय ५४ रहेका उल्लेख गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्