Logo

आधिकारिक ट्रेड युनियनको निर्वाचनको प्रक्रिया अविलम्ब सुचारु गर्न माग नेपाल निजामती कर्मचारी युनियन (संघ) को माग (भिडिओसहित)



काठमाडौं, ७ असोज । विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) को गम्भीर आपत्ति जनाएको छ । संघले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन स्थगित् गरिएकोमा आपत्ति जनाएको हो । उसले अविलम्ब निर्वाचन गर्नपनि माग गरेको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित् गरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन् । उनले भने,‘मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्था थियो । तर, सरकारले एकाएक कसैसँगपनि सरसल्लाह र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गर्ने निर्णय गर्यो । यो लोकतन्त्रमाथिको धावा हो ।’ उनले निर्वाचन स्थगित् गरेको विषयलाई संविधानको भावना र कानूनविपरित भएको पनि टिप्पणी गरे ।

उनले निर्वाचन स्थगित् गरिएकोमा आफुहरुको घोर आपत्ति रहेको पनि बताए । उनले भने,‘कोरोनाको कहरकै बीचमा निर्वाचनको मिति तय गरिएको हो, निर्वाचन नगर्ने हो भने किन चुनावको मिति तोकियो त ? हामी प्रजातन्त्रवादी हौं । चुनावको पक्षमा थियौं । चुनावबाट भाग्नु भनेको लोकतन्त्रविरोधी कदम हो ।’

उनले आफूहरु ट्रेड युनियनको अधिकार रक्षा हुनुपर्ने पक्षमा रहेको सुनाए । उनले भने,‘सरकारले एक्कासी निर्वाचन स्थगित् गरेर गम्भीर त्रुटी गरेको छ । सत्तारुढनिकट ट्रेड युनियन संगठनहरुबीच एकता भएको छैन् । उहाँहरुको आन्तरिक लडाई हो । उहाँहरुले हार्ने निश्चित भएपछि सरकारलाई ब्रिफिङ गरेर चुनाव स्थगित गरिएको हो ।’ उनले सरकारी संयन्त्र प्रयोग गरेर (गुप्तचर र सिडिओहरुमार्फत) चुनाव हार्ने देखेपछि पार्टीलाई कन्भिन्स गराएर नेकपानिकट संगठनहरुले चुनाव स्थगित गराउन लगाएको पनि आरोप लगाए । अध्यक्ष पोखरेलले चुनाव स्थगित गर्नुको दुई आरोप लगाए । उनले भने,‘उहाँहरुको दुई संगठन हुन नसक्नु र अर्को भनेको आफू पराजित हुने डर नै हो ।’ सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडान नमिल्ने उनको भनाई छ ।

पोखरेलले वर्तमान सरकार एकपछि अर्को गरेर अलोकप्रिय बन्दै गइरहेको टिप्पणी गरे । उनले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित हुनु ठूलो कुरा नभएपनि यसरी चुनाव स्थगित् हुँदै जाँदा भोलि स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमै होला त ? भन्ने प्रश्न उब्जेको बताए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव सुवोध कुमार देवकोटाले चाँडोभन्दा चाँडो निर्वाचन सुनिश्चित् गरिनुपर्नेमा जोड दिएका छन् । उनले सरकारले एक्कासी निर्वाचन स्थगित् गरेको निर्णय आपत्तिजनक भएको पनि टिप्पणी गरे । उनले भने,‘निर्वाचन स्थगित गर्ने सरकारको निर्णयमा सहमत हुन सकिँदैन् ।’

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल सरकारको निर्णयानुसार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको दोश्रो निर्वाचन यही मिति २०७७।०६।२४ गते तोकि सम्पूर्ण जिल्ला र विभागीय ईकाईहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको अवस्थामा नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७।०६।०६ गतेको निर्णयानुसार प्रस्तावित निर्वाचन हठात् विनाकारण स्थगित् गरेको निर्णयले नेपाल निजामती युनियन (संघ) आश्चर्यचकित र स्तब्ध भएको छ ।’

उसले अघि भनेको छ,‘निर्वाचन घोषणा हुँदा, प्रमुख निर्वाचन अधिकृत लगायतमा मनोनयन गर्दा नेपालको संघीय राजधानीलगायत देशभर निषेधाज्ञा जारी थियो । अहिले सबै कर्मचारीहरुलाई कार्यालयमा उपस्थित् हुन र निषेधाज्ञा हटेको छ । यस्तो अवस्थामा सरकारले बदनियत राखेको प्रष्ट हुन्छ । पेशागत संगठनका रुपमा आफ्नो प्रतिनिधि चयन गर्ने अवसर आउँदा आम कर्मचारी उत्साहित भई तयारी रहेको अवस्थामा निर्वाचन रोकिँदा आम कर्मचारी दुखित् छन् । निजामती क्षेत्रमा समेत लोकतान्त्रिक पद्धतीमा आँच आउने कार्य कहिँकतैबाट हुनु हुँदैन् । कसैको आन्तरिक समस्या निर्वाचन प्रक्रिया अवरुद्ध हुने कारण बन्न दिनुहुँदैन र सरकारले शक्तिको उन्मादमा राज्यसक्ताको दुरुपयोग गर्नुहुँदैन् । निर्वाचन रोकिनु विधिको शासन विपरित र लोकतान्त्रिक मूल्य मान्यताविपरित कार्य हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालय र प्रमुख निर्वाचन अधिकृत समेतसँग राय सुझाव नलिई गरिएको निर्णय लज्जास्पद र अस्वभाविक छ ।’

संघले निर्वाचनमा पछिल्लो समयमा लोकसेवाबाट सिफारिश भएका किताबखानामा पद दर्ता रहेका र स्वास्थ्य, संसद सेवा लगायतका कर्मचारीहरु समेतलाई निर्वाचनमा भाग लिन पाउने व्यवस्था मिलाई निर्वाचनको प्रक्रिया अविलम्ब सुचारु गर्न पनि जोडदार माग गरेको छ । उसले भनेको छ,‘मन्त्रिपरिषद बैठकले निर्वाचन रोक्ने तर मिति घोषणा नगरी निर्वाचनलाई अन्यौलताको भूमरीमा फसाएको कुरामा युनियन (संघ) केन्द्रीय कार्यसमिति खेद व्यक्त गर्दछ ।’

युनियन (संघ)ले निर्वाचनको विकल्प फेरि पनि निर्वाचन भएकोले लोकतान्त्रिक मान्यता र संस्कारअनुरुप अविछिन्न उत्तराधिकारवाला आधिकारिक ट्रेड युनियनको कानूनी कार्यालय समाप्त भैसकेको अवस्थामा तुरुन्त निर्वाचन प्रक्रिया सुचारु गरी निर्वाचनमार्फत नै आधिकारिक ट्रेड युनियनको गठन गर्न जोडदार माग गरेको छ । ‘अन्यथा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले देशव्यापी रुपमा विरोध गर्ने विरोध र निर्वाचन विरुद्ध भए गरेका सरकारी निर्णयविरुद्ध हुने कार्यक्रमले पर्ने असरको जिम्मेवारी पनि स्वयम सरकारले नै व्यहोर्नुपर्ने कुरामा ध्यानाकार्षण गराउँदछौं ।’–उपमहासचिव दुर्गाप्रसाद फुयालको नाममा जारी विज्ञप्तीमा भनिएको छ ।

युनियन संघले सबै प्रदेश कार्यसमितिहरु, जिल्ला कार्यसमितिहरु र विभागीय कार्यसमितिहरुलाई समेत आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित सम्बन्धमा जरुरी परिपत्र जारी गरेको छ । उक्त परिपत्रमा निर्वाचन विना कारण स्थगित गरिएकोमा आक्रोशित भएको जनाईएको छ । निर्वाचन प्रक्रिया अविलम्ब पूनः सचारु गर्न दबाब दिने उद्देश्यले सम्पूर्ण प्रदेश कार्यसमितिले प्रदेश मुख्यमन्त्रीमार्फत, जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत र विभागीय कार्यसमितिले सम्बन्धित विभागीय मन्त्रालयका नेपाल सरकारका सचिवमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउन अनुरोध गरेको छ । उसले, ज्ञापनपत्र बुझाउने मिति २०७७ असोज ८ गतेको समय तोकेको छ ।

कार्यक्रममा विज्ञप्ती वाचन तथा कार्यक्रम सञ्चालन संघका उपमहासचिव दुर्गा फुयाँलले गरेका थिए भने स्वागत भाषण उपाध्यक्ष तेजकुमार केसीले राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्