Logo

दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई गाह्रो



डोटी, ७ असोज: जिल्ला प्रशासन कार्यालय डोटीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । लामो समयदेखि कर्मचारीको दरबन्दी रिक्त रहे पनि सरकारले समयमै कर्मचारी नपठाउँदा सेवाग्राहीलाई गाह्रो भएको बताइएको हो । यहाँ दुई वर्षदेखि सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी खाली छ भने अन्य शाखामा पनि जनशक्ति कम छन् ।

पर्याप्त कर्मचारीको अभावमा जनतालाई सेवा दिन समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विसं २०७५ मा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई प्रमुख जिल्ला अधिकारी तोकिएपछि उक्त दरबन्दी खाली भएको हो । अहिले पौडेलको काठमाडौँमा सरुवा भए पनि यहाँ सहायक प्रमुख जिल्ला अधिकारी आएका छैनन् । लामो समयसम्म पनि कार्यालयको कामकाजमा कर्मचारी नपठाउँदा नागरिकतादेखि अन्य सेवाका काममा समस्या भएको छ ।

सरकारले सहायक प्रमुख जिल्ला अधिकारी तथा शाखा अधिकृतहरु हालसम्म नपठाएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी शाखा अधिकृत दुई जनाको दरबन्दी भए पनि लामो समयदेखि एक जना शाखा अधिकृत शिवकुमार राइले काम चलाउँदै आएका उनको पनि सरुवा भएको छ । कर्मचारी अभावका कारण सेवा लिन आएका सेवाग्राही रित्तो हात फर्किएको बताउँछन् ।

सेवा प्रवाह ढिला भएकाले नागरिकता लिन पनि स्थानीयले दुईदेखि तीन दिनसम्म पालो कुर्नुपर्ने अवस्था आएको बोगटान फुड्सिल गाउँपालिकाबाट नागरिकता लिन आएका स्थानीय दीपकबहादुर धामीले बताए । उनले भने, “फाँटमा कर्मचारी नै हुँदैनन्, नागरिकता दिन पनि दुईदेखि तीन दिन लाग्छ, गाउँबाट आएका हामी त्यतिका दिन कहाँ बस्ने के खाने, हाम्रो समस्या बुझिदिनुप¥यो ।”

जिल्ला प्रशासनको समस्याका बारेमा मन्त्रालय र विभागमा पटक–पटक समस्या दर्शाउँदा पनि कसैले चासो नदेखाएका कारण जिल्लाको समस्या उस्तै रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले गुनासो गरे । उन्ली भने, “प्रशासनमा कर्मचारी अभावको समस्या मन्त्रालयदेखि विभागसम्म सबैलाई जानकारी छ, कर्मचारी मागेर पत्राचार गरेका छौँ, पठाउँदैनन् हामी के गरौँ ?”

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रभावमा दिनहुँ समस्या हुँदै आएको उनले बताए । उनले भने, “नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड थेगिनसक्नु छ, हामीसँग कर्मचारी अभाव छ, सेवा पवाहमा समस्या हुँदै आएको छ ।”

नागरिकता लिनेको भीड बढेपछि जिल्लाका नौवटै स्थानीय तहका नागरिकलाई नागरिकता लिन जिल्ला प्रशासनले समय तालिका तोकेको छ । नागरिकता लिनेहरुमा पुरुषभन्दा महिला बढी आएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । गत आर्थिक वर्षभन्दा यस वर्ष नागरिकता लिनेहरू बढेका छन् । कोरोना सङ्क्रमण फैलिनुभन्दा पहिले दैनिक २५ देखि ३० वटासम्म नागरिकता वितरण गर्ने गरिएकामा अहिले दैनिक १०० देखि २०० सम्म नागरिकता वितरण गरिएको सो कार्यालयले जनाएको छ । कोरोनाको सङ्क्रमण फैलिएपछि भारतबाट फर्किएका नागरिक अहिले घरपरिवारका सदस्यसहित नागरिकता लिन आएका छन् । त्यसैले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले नागरिकता वितरणको तालिका तोकेको हो ।

कतिपय सेवाग्राहीहरुले जनस्वास्थ्यका मापदण्डको पालना नगर्ने भएकाले भीडभाड कम गर्न यस्तो निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनले भने, “सेवाग्राहीले कोरोनाबाट जोगिन सामान्य सावधानी पनि नअपनाएको तथा नागरिकताका लागि मात्रै बढी भीड लाग्न थालेपछि हामीले नयाँ नियम लागू गरेका छौँ, अब भीड केही नियन्त्रण हुनेछ र सङ्क्रमणको जोखिम पनि कम हुनेछ ।”

नयाँ नियमअनुसार शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र जोरायल गाउँपालिकाका नागरिकलाई आइतबार, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकालाई सोमबार र बिहीबार तथा दिपायल सिलगढी नगरपालिका, बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका नागरिकलाई मङ्गलबार र शुक्रबार नागरिकता लिन आउनुपर्ने निर्णय बनाइएको जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी शिवकुमार राईले बताए ।

कोरोनाका कारण जिल्लामा रहेका विद्यालयहरु पूर्णरूपमा बन्द छन् भने यातायातका साधन भने निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै बजार क्षेत्रलगायत अन्य सार्वजनिक क्षेत्रमा भने मानिसहरु स्वास्थ्य सुरक्षा मापदण्डको प्रवाह नै नगरी निर्वाधरूपमा हिँडडुल गरिरहेको पाइएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी सर्वजित देउवाले बताए । उनले भने, “प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि यातयातदेखि बन्द भएका सबै सेवाहरु खुले अब नागरिक पनि कोरोनाको बेवास्ता गर्दै सडकमा हिँड्न थालेका छन्, जसले गर्दा जोखिम झन् बढ्ने खतरा देखिएको छ ।”

निषेधाज्ञाको समयमा सुरक्षाकर्मी परिचालन भए पनि निषेधाज्ञा खुकुलो भएसँगै सुरक्षाकर्मी पनि बजारमा नआउने भएका कारण यहाँका बजारमा नागरिकको चहलपहल भएको स्थानीयवासी बताउँछन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालय डोटीले कार्यालयमा बिना मास्क आउने सेवाग्राहीलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । कोरोनाको बेवास्ता गर्दै सेवाग्राही बिना मास्क आउन थालेपछि प्रशासनले उक्त निर्णय लिएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी राईले बताए । उनले भने, “पछिल्लो समय सेवाग्राहीको भीड बढेको छ, कतिपय मास्क नलगाई नै सेवा लिन आउन थालेका कारण कोरोना सङ्क्रमणबाट जोगिन यो निर्णय गरेका हौँ ।”

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार पछिल्लो समय जिल्लामा कूल एक हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँका निर्वाचित जनप्रतिनिधिले जिल्लामा दरबन्दीअनुसारका कर्मचारी ल्याई खाली भएका कार्यालयमा कर्मचारी व्यवस्थापन नगर्दा यस्तो समस्या भएको र नागरिकले दुःख पाएका राष्ट्रिय जनमोर्चाका नेता रमेश अवस्थीले बताए । उनले भने, “निर्वाचित जनप्रतिनिधिले जिल्लामा दरबन्दीअनुसारका कर्मचारी खटाउन तथा खाली भएका कार्यालयमा कर्मचारी पदपूर्ति गराउनका लागि पहल गरेका छैनन्, दुःख जनतालाई भयो ।” जिल्ला प्रशासन मात्र नभई यहाँका विभिन्न सरकारी कार्यालयमा लामो समयदेखि कर्मचारी अभाव हुँदा तथा खटिएका कर्मचारी पनि काजमै काठमाडौँ बस्दै आएका कारण सेवाग्राही नागरिकलाई दिनहुँ समस्या हुँदै आएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम