Logo

‘चीनले नेपाली भू–भागमा बनाएका भवनसम्म पुग्यौं, त्यहाँका सेनाहरु पनि आएपछि हामी ब्याक हुनुपरेको थियो’ : गाउँपालिका अध्यक्ष तामाङ



हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङ (लामा) ले चीनले अतिक्रमण गरेको भन्ने नेपाली क्षेत्रमा आफूहरु पुगेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु चीनले नेपाली भूभागमा बनाएका घर हेर्न पुगेको पनि स्पष्ट पारेका छन् । कुराकानीको क्रममा उनले भनेका छन्,‘हामी त्यही पुग्यौँ । भवनसम्मै पुग्यौँ । त्यहाँको सेनाहरू पनि आएका थिए । त्यसपछि हामी ब्याक हुनुपरेको थियो ।’ त्यसोभए चीनले सेनाहरू पनि ल्याएको थियो, तपाईँहरूसँग वार्ता गर्नका लागि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘प्रतिनिधिहरूको एउटा गाडी अगाडि आएको थियो । दुई ट्रक जति सेना पनि आएको थियो ।’ प्रस्तुत छ अध्यक्ष तामाङसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

त्यहाँको पछिल्लो अवस्था के छ ? चीनले नेपालको जमिन अतिक्रमण गरेको भन्ने कुरा आएको छ नि ?

हामी अस्ति गएको आईतबार त्यस क्षेत्रमा पुगेका थियौँ । लाम्चा पिलर हाम्रो १२ नम्बर पिलर रहेको स्थान हो । अहिले भवनहरू बनाएको स्थान ललुङजङ हो जुन त्यो हाम्रो भूमिबाट कैलाश र मानसरोवरको दुरदर्शन हुने गथ्र्यो । त्यो भएको हुनाले अहिले हाम्रो ११ नम्बर पिलर अहिलेसम्म पत्ता लगाईएको अवस्था छैन र राज्यले पनि यसको खोजी गरेको अवस्था छैन । सायद खोजी गरेको अवस्थामा भेटिन सक्छ होला । कहाँ छ भनेर हामीलाई ज्ञान पनि भएन । त्यो ११ नम्बर हालसम्म नभेटिएको हुनाले यो १२ र ११ नम्बरको बीचमा मार्किंग गर्नको लागि अहिले त्यो भवन बनिरहेको ठाउँमा चाइनातिर हो कि नेपालतिर हो ? त्यसमा यकिन गर्न सक्ने अवस्था हामीले देखेनौँ ।

तपाईँहरू को–को जानुभएको थियो, वार्ता गर्नको लागि चीनमा ?

यो खासै हामी वार्ताको निम्ति होइन, सीमास्तम्भको अनुगमनको लागि गएका हौँ । हामी जाँदाखेरि त्यहाँको जिल्लालाई जानकारी दिएर हामी यो यो काममा आउँदैछौँ, तपाईँहरू पनि आउँदा राम्रो होला भनेर जानकारी गराएका थियौँ । सोही जानकारी उहाँहरूले हामी आउँछौँ भनेर हामी त्यही स्थानमा पुगेका थियौँ । डेढ घण्टाजति त्यहाँ कुरेका थियौँ । त्यहाँबाट उहाँहरूको प्रतिनिधिहरू आउँदै हुनुहुन्छ, एक घण्टाभित्र हामी पुग्छौँ भन्ने जानकारी आयो । त्यही जानकारीअनुसार हामी त्यहाँ डेढ घण्टाजति कुरेर बसेका थियौँ । डेढ घण्टापछि उहाँहरू आउनुभयो । उहाँहरू पि.पि.ई सेटमा हुनुहुन्थ्यो । यो क्षेत्र हाम्रो हो, अहिले कुरा गर्न मिल्दैन । अहिले कोरोनाको त्रास पनि छ, त्यो हुनाले हामीलाई उहाँहरूले त्यहाँबाट ब्याक हुनको लागि अनुरोध गर्नुभयो ।

चिनियाँ पक्षले तपाईँहरूलाई पछाडि हट्नको लागि अनुरोध गरे ?

त्यो डाँडासम्मको स्थान हाम्रो भूमि हो । तपाईँहरू अहिले यो हाम्रो भूमिमा बसेर कोरोनाको अवस्थामा कुरा गर्न मिल्दैन । तपाईँहरू आफ्नै क्षेत्रमा टेक्नुस्, हामी हाम्रै क्षेत्रमा टेकेर अलिकति डिस्टान्स मेन्टेन गरेर कुरा गरौँ भनेर उहाँहरूले माइकिंग गर्नुभयो । त्यसैअनुसार हामीले ब्याक हुनु परेको थियो ।

सि.डि.ओ. साहेब पनि तपाईँसँग नै हुनुहुन्थ्यो, होइन ? सि.डि.ओ. साहेब फर्किनुभएको छैन ?

हामी त्यो क्षेत्रबाट फर्किसक्यौँ । उहाँ अर्को हिल्सा बोर्डरतिर जानुभएको छ । उहाँको सेना र सशस्त्र प्रहरीको टोली । हिल्सा बोर्डरमा अर्को एउट सीमास्तम्भ छ । त्यहाँ पुगेर आउँछौँ भनेर उहाँहरू त्यस क्षेत्रमा जानुभएको छ ।

चीनले त्यहाँ कहिलेदेखि भवन बनाएको थियो, तपार्इँसँग तथ्यांक छ ?

यो चार वर्ष अगाडि दुईओटा भवनहरू बनाएको थियो । बनाईसकेपछि उहाँहरूले त्यति प्रयोगमा ल्याउनुभएन । यो साल नौओटा थपेर एघारओटा भवन बनाएको छ, कम्पाउन्डसहित । सोलार, पिलरहरू जडान गरेर अहिले बनाएको रहेछ ।

त्यसोभए त्यो भवनहरू हेर्नको लागि तपाईँहरू त्यहाँ पुग्नुभयो ? देख्नुभयो, भवनहरू ?

हामी त्यही पुग्यौँ । भवनसम्मै पुग्यौँ । त्यहाँको सेनाहरू पनि आएका थिए । त्यसपछि हामी ब्याक हुनुपरेको थियो ।

त्यसोभए चीनले सेनाहरू पनि ल्याएको थियो, तपाईँहरूसँग वार्ता गर्नका लागि ?

प्रतिनिधिहरूको एउटा गाडी अगाडि आएको थियो । दुई ट्रक जति सेना पनि आएको थियो ।

प्रतिनिधिहरूले तपाईँहरूसँग वार्ता गर्नका लागि के भन्यो त ? वार्ता गर्ने भन्यो कि नगर्ने भन्यो कि ? वास्तविकता के हो ?

कुरा नै भएन । हामीलाई सीर्फ, त्यो भूमि हाम्रो हो, त्यो भूमि हाम्रो नक्सामा कायम छ । यो एरिया चिनियाँ पक्षको हो, तपाईँहरू यहाँ बसेर कुरा गर्न मिल्दैन । तपाईँकै क्षेत्रमा जानुस् भनेर माथि फर्काईयो । केही कुरा भयो भने आफ्नो क्षेत्रमा बसेर टाढा टाढाबाट कुरा गरौँ भन्ने उहाँहरूको भनाईँ भयो । त्यो क्षेत्र पाँच हजार दुई सय मिटर उचाईमा हो । त्यहाँ २४सै घण्टा भीषण हावा चल्छ । हावा चल्दा केही सुन्ने पनि अवस्था छैन । यकिन भएको हाम्रो भूमि छैन, त्यहाँ । उनीहरूले तोकेको क्षेत्रमा मात्र हामी बस्नुपर्ने छ । त्यसकारण हामी ब्याक भएर आयौँ ।

लुलङजोङमा चीनले जसरी भवनहरू बनायो, त्यो नेपाली भूभाग होइन त ?

त्यो उपभोगको हिसाबले पहिलेदेखि हामीले उपभोग गर्दै आएको हो । तत्कालीन समयमा त्यो खुल्ला बोर्डर थियो । उनीहरू यता पनि आउँथे, हामी उता पनि जान्थ्यौँ । ११ नम्बरको पिलरलाई मात्रै आधार मान्ने हो भने त्यो हामीभित्र पर्ने जस्तो देखिन्छ ।

त्यसोभए त्यो नेपालकै भूभाग हो, ११ नम्बर पिलरलाई मान्दाखेरि । स्तम्भ त हराएको छ त्यहाँ । सीमारेखा अस्पष्ट छ नि ?

त्यो २०६६ सालमा त्यहाँबाट बाटो खनिएको हो । बाटो खन्दाखेरि हामीले नै खनेको हो । नेपालको पक्षबाट हामीले नै खनेको हो, बाटो ।

त्यो बाटो कहाँ जानको लागि खनेको हो ?

बोर्डरबाट सिमकोट सदरमुकाम जोड्नको लागि खनिएको हो । त्यहाँबाट सिमकोट जोडिएको बाटो छ, त्यहाँ ।

हुम्लाको कुरा गर्दाखेरि त्यहाँबाट हामी कहाँ-कहाँ जान सक्छौँ ?

त्यहाँबाट मानसरोवर र कैलाश जाने हो । तत्कालीन समयमा त खुल्ला थियो तर अहिले खुल्ला बोर्डर होइन । त्यहाँ हामीलाई छिर्न दिइँदैन । हाम्रो मूल बोर्डर भनेको हिल्सा बोर्डर हो ।

मानसरोवर जानको लागि त्यो ठाउँ एकदम उचित हो ?

एकदमै नजिकको दूरी भनेको त्यहीबाट हो ।

नेपालको लागि सबैभन्दा नजिकको दूरी त्यही हो ?

चिनियाँ पक्षले त्यो रुटलाई खोलिदियो भने सबैभन्दा नजिकको दूरी त्यहीबाटै हो ।

त्यसोभए अहिलेसम्म चिनियाँ पक्षले त्यो ठाउँ खोलेको छैन ?

अहिलेसम्म त्यो खुल्ला गरेको छैन । हिल्सा बोर्डर खुल्ला गरिएको छ । मानसरोवर र कैलाशको लागि पनि त्यही हिल्सा बोर्डरबाट जाने गरिएको छ ।

नेपाल सरकार बेखबर छ भन्ने कुराहरू आयो ? वास्तविकता के हो ?

रिपोर्ट गृहमन्त्रालयमा सि.डि.ओ. साहब आईसकेपछि उहाँले पठाउनुहुन्छ होला । अघिल्लो पटक पनि कैलाश दर्शनको लागि सहायक सि.डि.ओज्युहरू पुग्नुभएको रहेछ । उहाँहरूले पनि केही रिपोर्टहरू पठाएका छाँँै भनेर भन्दै हुनुहुन्थ्यो । सि.डि.ओ. साहब फर्किसकेपछि त्यो रिपोर्ट बुझाउनुहुन्छ ।

दत्तराज हमालले प्रस्ट रूपमा नै भन्नुभएको थियो, नेपाली बहसमा । उहाँले इत्तिवृत्तान्त बताउनुभएको थियो । ती भूभाग हाम्रा हुन् भनेर उहाँले भन्नुभएको थियो । चीनले जसरी भवनहरू बनाएका छन् नि, के त्यो सही हो ?

त्यो ठ्याक्कै यकिन गर्न सक्ने हाम्रो अवस्था छैन । किनभने हाम्रो ११ नम्बर पिलर नै पत्ता लागेको छैन । खोजी नै गरिएको छैन । पत्ता लागिसकेपछि मात्रै चीनको हो कि हाम्रो हो ? भन्ने तथ्यसंगत कुरा हुन्छ । अहिले नै अब त्यो भूभाग हाम्रै हो भन्न सक्ने स्थिति छैन, त्यहाँ कुनै हाम्रो आधार नै छैन, त्यहाँ पिलर नभएको कारणले ।

सीमामा तपाईँहरूलाई चीनले दुःख दिएको छ कि छैन ?

हामीलाई उता छिर्न दिएको छैन । त्यो बोर्डरमा हामीलाई पहिलेदेखि नै छिर्न दिइँदैन थियो । त्यहाँ टोटली उनीहरूको बोर्डरमा सेनाहरू राखिएको छ । हाम्रो पक्षबाट नेपाल सरकारले स्थापना गर्न सकेको अवस्था छैन । अहिले पनि गर्ने पक्षमा छ कि छैन, जानकारीमा आएको छैन । हाम्रोतिर शुन्यताको अवस्था छ ।

शुन्यताको अवस्था छ है त्यहाँ ? कुनै सेना पनि छैनन् ? चौकी पनि छैन ?

सायद त्यो १२ नम्बर पिलरमा नेपालको प्रतिनिधि पुगेको यो पहिलोचोटि नै होला सायद ।



प्रतिक्रिया दिनुहोस्