Logo

सरकारले भन्यो- नेपाल-चीन बीच सीमा समस्या छैन



काठमाडौं, ७ असोज । चीनले हुम्लास्थित लाप्चा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको विषय उठिरहँदा सरकारले भने नेपाल र चीनबीच सीमा समस्या नभएको बताएको छ । आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले उसकै भूमिमा भौतिक संरचना निर्माण गरेको बताउँदै सीमा समस्या नभएको बताएका हुन् ।

नेपाल चीन बीचमा सीमा समस्या छैन, मन्त्री ज्ञवालीले भने, समस्या आएमा समाधान गर्ने संयन्त्र छ । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ । तर, चीनले अतिक्रमित भूमिलाई आफ्नो भनेको छ । चीनले आफ्नो सीमाभन्दा एक किलोमिटर भित्र भौतिक संरचना निर्माण गरेको समेत बताए ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचारमा कुनै सत्यता नभएको ज्ञवालीको भनाई थियो । उनले सीमाका विषयमा संवेदनशील भएर समाचार सम्प्रेषण गरिदिन आग्रह समेत गरे । विगतमा पनि यस्तै खाले समाचार सम्प्रेषण भएको उनको भनाई थियो ।

हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको भन्ने समाचारबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको समेत ज्ञवालीले बताए । उनले स्थगत अध्ययनका लागि टोली पुगेको र वृस्तृत जानकारी पछि आउने समेत बताए ।

हुम्लाको लिमी क्षेत्रमा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र चीनले नौ वटा भवन बनाइसकेको खबर सार्वजनिक भएको थियो । चिनियाँ सैनिकले उक्त क्षेत्र चीनको भन्दै नेपालीलाई प्रवेश गर्न रोकेको विषय राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।

यसअघि मङ्गलबार साँझ चिनियाँ राजदूतावासले विज्ञप्तिमार्फत् उक्त भूभाग चीनतर्फ रहेको प्रमाणित गरिएको दाबी गरेको थियो । चिनियाँ दूतावासका प्रवक्तामार्फत् विज्ञप्तिमा भनिएको छ, मिडियामा उल्लेख गरिएका भवनहरु चीन नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली उक्त क्षेत्रमा पुगी स्थगलत अध्ययन गरिसकेको छ । नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ चिनियाँ पक्षले निर्माण कार्य गरिरहेको क्षेत्र नेपालको रहेको स्पष्ट पारिसकेका छन् । उक्त क्षेत्रमा पिलरको खोजी समेत भइरहेको छ । ११ नम्बर पिलर हराएको छ । यसबारे यकिन जानकारी नआउँदै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल चीन बीच सीमा समस्या नरहेको भनाई सार्वजनिक गरेका छन् । कैलाश मानशरोवर क्षेत्र स्पष्ट देखिने उक्त क्षेत्र भूसामरिक दृष्टिले महत्वपूर्ण छ ।



प्रतिक्रिया दिनुहोस्