Logo

सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा (मन्त्रीपरिषदका निर्णयहरु)



असोज ७, काठमाण्डौ । सरकारले सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार साँझ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए ।

सङ्कटग्रस्त क्षेत्र घोषणा भएसंगै ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने ज्ञवालीले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय गरेको छ । त्यसको जिम्मा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिइएको छ ।

श्रम सम्झौतापछि नेपाली कामदार केयर गिभरको रूपमा इजरायल जानेछन् । नेपाली श्रमिकहरूले त्यहाँका कामदार सरह सेवा, सुविधा सर्त पालना गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाई छ । त्यस्तै आधिकारीक ट्रेड युनियनको निर्वाचन वि स २०७७ मंशिर २७ गते गर्ने निर्णय गरिएको ज्ञवालीले बताए ।

नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या छैन

त्यस्तै उनले चिनियाँ पक्षले नेपाली भूभाग कब्जा गरी भौतिक संरचना बनाएको वा नबनाएको भन्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाली टोली गएकाले उनीहरु आएपछि थप तथ्य आउने जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको पनि बताए । हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्