Logo

छ जना सवार जिप बाढीले बगाउँदा दुईको मृत्यु,एक बेपत्ता



कपिलवस्तु,८ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित कोइली खोलामा बुधबार बाढीले ६ जना सवार बिद्युत प्राधिकरणको जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ एक बेपत्ता भएका छन् । बा १ ञ १०८९ नम्वरको उक्त जिप वार्ड नम्बर ९ को भलवाड भन्ने स्थानमा अवरुद्ध भएको बिद्युत मर्मत गरेर फर्किदै थियो । जीपमा चार जना बिद्युत प्राधिकरणका कर्मचारी र दुई जना सर्वसाधारण चढेकाथिए ।

घटनामा दुई जनाको जनाको मृत्यु पुष्टि भएको छ । एक जना बेपत्ता छन् । तीन जनाले भने पौडिएर ज्यान जोगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकमध्ये एक जना उक्त जीपका चालक, रेसुंगा ९ उपल्लो तम्घासका माधव पाण्डे रहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार जीप भित्र अर्का एक जनाको शव अड्किएको छ । अर्का एक जना भने बेपत्ता छन् । उनको नाम खुलेको छैन् ।

जीप बगेपछि बाणगंगा नगरपालिका ८ का बिजय पोखरेल,वार्ड नम्बर ४ का परशु चौधरी र नाम नखुलेका अर्का एक जनाले पौडिएर ज्यान जोगाउन सफल भएको बाणगंगा नगरपालिका वडा नं. ९ का अध्यक्ष विष्णु गिरीले बताउनुभयो । घटना स्थलमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । खोलामा पानीको उच्च बहाव भएकोले खोजतलासमा समस्या भएको प्रहरीले जनाएको खबर आजको गोरखापत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्